२९ वर्षदेखि कुखुराको व्यापारमा छविलाल

विहीबार, ०८ फागुन २०७६, १५ : १४
२९ वर्षदेखि कुखुराको व्यापारमा छविलाल

– राजेन्द्रप्रसाद पनेरु 
कञ्चनपुर । बिहानीको झिसमिसेमै गाउँगाउँमा साइकल गुडाउँदै स्थानीय जातका कुखरा खोज्दै हिँड्नु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका छविलाल सार्कीको दिनचर्या नै हो । सार्कीलाई स्थानीय बासिन्दाले कुुखुरा व्यापारीका रूपमा चिन्ने गर्दछन् ।
 
कुखुरा व्यापारीको पहिचान बनाउनुभएका उहाँले यसै व्यवसायबाट जीविका चलाउँदै आउनुभएको छ । सार्की २९ वर्षदेखि स्थानीय जातका कुखराको व्यापारमा संलग्न हुनुहुन्छ । पहिलाजस्तै आजभोलि पनि सार्की साइकल डो¥याउँदै कुखुरा खोज्नमै व्यस्त हुनुहुन्छ ।

घरबासका लागि जग्गा र त्यसमा बनेको कच्ची घर सम्पत्तिका रूपमा रहेका सार्की जीविका चलाउनका लागि कुखुराको व्यापारलाई रोजेको बताउनुहुन्छ । “स्थानीय जातका कुखुरामात्रै पहिला पाल्ने चलन थियो”, सार्कीले भन्नुभयो, “गाउँगाउँमा सहज र सुपथ मूल्यमा कुखुरा पाइन्थे । हाल विकासे जातका कुखुरा व्यावसायिकरूपमा पाल्न थालिएपछि स्थानीय जातका कुखुरा खोज्न गाह्रो भइसक्यो । एक सयमा दुई जनाले मात्रै स्थानीय जातका कुखरा पाल्ने गरेका छन् ।”

दुई÷तीन दिन लगातार गाउँ चहारेपछि चार÷पाँच कुखुरा मात्रै पाउन सकिने गरेको उहाँ बताउनुहुन्छ । रु ५० प्रतिकिलोका दरले जिउँदो कुखुरा खरिद गरेर बजारमा बेचेको स्मरण गर्दै सार्कीले भन्नुभयो, “त्यसबेला दैनिक २५ देखि ३० किलोसम्म कुखुरा बिक्री गर्न लैजान्थेँ । गाउँमा खरिद गरेको कुखुरा बजारमा लगेर बिक्री गरी परिवारको खर्च सहजै चल्थ्यो । हाल त्यसको आधा मात्रै कुखुरा पाइने गरेका छन् ।”

उहाँका अनुसार अहिले कुखुरा पाउनै मुस्किल छ, पाइहाले पनि थोरै पाइने भएकाले आम्दानी पनि कम छ । “कुखुराको व्यापारले घरपरिवारको खर्च धानिएकै छ । तीन छोरीको विवाह पनि यसै व्यापारको कमाइले गर्न भ्याएको छु । छोरीको विवाह गर्नमै रु सात लाख बढी खर्च लागेको छ । त्यो सबै कुखुराकै कमाइ त हो नि ।”

हाल स्थानीय जातको कुखुराको भाले रु ५५० र पोथी रु ४५० प्रतिकिलोका दरले खरिद गरी रु ५०० देखि रु ६०० मा उहाँले बिक्री गर्दै आउनुभएको छ । कुखुरा खरिद गरी बिक्री गरेर आएको केही रकम बचत गरी उहाँले पक्की घरसमेत बनाउन थाल्नुभएको छ । ‘मुर्गावाला’को नामले परिचित सार्की जीविका चलाउने एक मात्रै माध्यमका रूपमा रहेको कुखुराको व्यापार नछाड्ने बताउनुहुन्छ । गाउँबाट खरिद गरेर ल्याएका कुखुरा भीमदत्तनगर बजारको सब्जीमण्डीमा बिक्री हुने गरेको छ । 

वर्षौं पहिले पहाडबाट बसाइँ सारेर तराई झर्दा कमाइने गर्ने साधन थिएन । भारतबाट आएका व्यापारीले मात्रै कुुखुराको व्यापार गर्दथे । भारतीय व्यापारीले कुखुरालगायतको खुद्रे व्यापार गरेर आरामले परिवारको खर्च चलाएको देख्दा यसबाटै प्रेरणा लिँदै सार्कीले कुखुराको व्यापार गर्न शुरु गर्नुभएको हो । बजारमा मजदुरी गरेर कमाएको रु १०० बाट पहिलोपटक कुखुरा खरिद गरी बजारमा लगेर बिक्री गरी आएको आम्दानी जम्मा गर्नुभयो । “त्यसपछिको आम्दानी जम्मा गरी पूँजी बनाएँ” सार्कीले भन्नुभयो, “थोरैबाट धेरै कुुखुरा खरिद गर्न थालेपछि आम्दानी पनि बढ्यो । परिवारको खर्च चल्न थाल्यो । त्यसपछि यो नै व्यवसाय बन्यो ।”
 
“व्यापार सानो ठूलो हँुदैन । मेहनत गरे सानो व्यवसायबाट पनि परिवार सहजरूपमा चल्दोरहेछ । पहाडबाट तराई झर्दा एकसरो लुगामा आएका थियौँ । मेहनत गरेँ । निरन्तररूपमा व्यवसायमा संलग्न रहेकाले कसैसँग पैसाका लागि अहिलेसम्म हात थाप्नुपरेको छैन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार पैसाकै लागि धेरै जना विदेशिने गरेका छन् । स्वदेशमै लगनका साथ काम गरे परिवारसँगै बसेर त्यो भन्दा बढी कमाउन सकिन्छ । त्यसका लागि धैर्य आवश्यक छ । (रासस)

प्रतिक्रिया दिनुहोस