मन्त्री बाँस्कोटलाई तुरुन्त बर्खास्त गर्न साझा पार्टीको माग

विहीबार, ०८ फागुन २०७६, १२ : ५१
मन्त्री बाँस्कोटलाई तुरुन्त बर्खास्त गर्न साझा पार्टीको माग

काठमाडौं । साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न माग गरेको छ । 

साझाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएपछि यस्तो माग गरेको हो ।

‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ’, प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

झण्डै दुई तिहाई बहुमत प्राप्त इतिहासकै एउटा शक्तिशाली सरकारले देशको नेतृत्व गरिरहेको छ। देशलाई दशकौँदेखि जर्जर बनाइरहेको, विकासलाई अवरूद्ध पारिरहेको, समग्र समाजमा नैतिक क्षयीकरण ल्याइरहेको भ्रष्टाचारको महामारीलाई रोक्न कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै हर दिन आम जनताले ठूलठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनु पर्ने अवस्था नेपालीहरूको नियति बनिसकेकोमा साझा पार्टीले चिन्ता व्यक्त गरेको छ । 

अब अति भइसक्यो भन्दै साझा पार्टी आम जनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि जोडदार माग गरेको छ । 

‘भ्रष्टाचारीहरू समाजका धमिरा हुन् । तिनीहरूको हालिमुहाली रहने वातावरण कायम भएसम्म जस्तोसुकै व्यवस्था भएपनि देशले प्रगति गर्न सक्दैन’, साझा पार्टीले भनेको छ । यसअघि नेकपाली काँग्रेस, राप्रपा लगायतका राजनीतिक दलहरुले पनि मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस