सिन्धुपाल्चोकमा कोरोना भाइरस होइन, मौसमी रुघाखोकी : स्वास्थ्य मन्त्रालय

बुधबार, २९ माघ २०७६, १२ : ५४
सिन्धुपाल्चोकमा कोरोना भाइरस होइन, मौसमी रुघाखोकी : स्वास्थ्य मन्त्रालय

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएका बिरामीहरुमा मौसमी रुघाखोकी भएको जनाएको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण नदेखिएको बताएको छ । 

जुगल गाउँपालिकाको गुम्बामा देखिएको समस्या कोरोना नभई मौसमी रुघाखोकी भएको मन्त्रालयले जनाएको छ ।  गलत सन्देश दिएर भ्रम नफैलाउन मन्त्रालयले अनुरोध गरेको छ । बिरामीको उपचार र रोगबारे अध्ययनका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चाकको टोलीलाई खटाइएको छ । 

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमण नदेखिएको बताए । उनले गुम्बामा देखिएको भाइरल रुघाखोकी र ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्मीको टोली पुगिसकेको भन्दै संयमता अपनाउन आग्रह गरेका छन्। बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोलीले बुधबार नै त्यहाँबाट थप परीक्षणको लागि नमुना संकलन गरी ल्याउने उनले जानकारी दिए।

जुगल गाउँपालिकाले कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई रोग पहिचान गर्न पत्रचार गरेको थियो।