आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त

मंगलबार, २८ माघ २०७६, १७ : २४
आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका छन् । 

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् । 

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो । 

२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका ठाकुर २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो । २०५८ वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा डीआईजीमा बढुवा भएका हुन् ।

आईजीपीको लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्यायको पनि चर्को लबिङ भएको थियो । बरियताक्रममा लम्साल दोस्रोमा थिए भने उपाध्याय तेस्रोमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस