ओली पक्षधरको गौशलामा गोप्य गुट भेला

प्रधानमन्त्री सहभागी नभएपनि प्रधानमन्त्रीको निर्देशनमा ओली पक्षधर नेताहरु भेलामा सहभागी थिए

सफल खबर संवाददाता

मंगलबार, २८ माघ २०७६, ०८ : ३५
ओली पक्षधरको गौशलामा गोप्य गुट भेला

काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओली पक्षले काठमाडौंमै आफना समुहको गुट भेला आयोजना गरेको छ । गोप्य रुपमा हिजो सोमबार गौशलास्थित मदन भण्डारी फाउन्डेसनमा ओली पक्षले भेला आयोजना गरेको हो ।

पार्टीभित्र देखा पर्दै  आएको त्रिपक्षिय शक्ति सन्तुलन पछिल्ला दिनमा द्दिपक्षिय बन्न पुगेको र त्यसबाट आफ्नो पक्ष कमजोर बनेको निष्कर्ष निकाल्दै ओली पक्षले गुट भेलाको आयोजना गरेको हो ।

भेलामा प्रधानमन्त्री ओली भने सहभागी थिएनन । तर उनकै निर्देशनमा भेला बोलाईएकोले भेलामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला वालवालिका मन्त्री पार्वत गुरुङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट सल्लाहकार डा राजन भटटराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रेस संगठनका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य राजेन्द्र गौतम लगायतका एक दर्जन बढी नेताहरु सहभागी थिए । भेला दिउँसो ४ बजेदेखि झण्डै चार घण्टा चलेको थियो । 

मदन भण्डारी फाउन्डेसन ओली पक्षले आफनो गुट बलियो बनाउन गठन गरिएको सस्था हो । यसको अध्यक्ष राष्ट्रपती विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन् ।

नेकपाभित्र अध्यक्षद्दय ओली, प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका आ-आफना शक्तिशाली समुह छन् । जसमध्ये प्रचण्ड र नेपालका वीचमा पछिल्लो समय सम्वन्ध नजिक देखिएपछि ओली पक्ष अत्तालिएको छ ।

गत पुस २३ गते सचिवालयका बहुमत सदस्यले उपाध्यक्ष वामदेव गौतमको निवासमा भेला गरि आफुहरु अध्यक्ष प्रचण्डको पेरिफेरिमा रहेको प्रष्ट संकेत दिएपछि ओली पक्ष झस्किएको छ । सचिवालय, स्थायी समिति देखि केन्द्रीय समिति सम्म ओली पक्ष अहिले कमजोर बनेको छ । गत केन्द्रीय समिति वैठकमा समेत ओली पक्ष रक्षात्मक अवस्थामा पुगेको थियो ।

सरकार, पार्टी सबैतिर आफनो पक्ष रक्षात्मक बनेको  तथा प्रचण्ड र माधव नेपालको समुह एकातिर बलियो सम्वनधमा रहेको निश्र्कष पछि ओली पक्षले आफनो रणनीति तय गर्न भेला बोलाएको हो । भेलामा सरकारको बचाउ, आफनो पक्षले आगामी दिनमा चाल्ने कदम लगायतका विषयमा नेताहरुले लामैै विचार मन्थन गरेको सहभागी एक नेताले बताए ।

उनका अनुसार, आगामी दिनमा जनताको बहुदलीय जनवादकै पक्षमा वैचारिक वहस पार्टीभित्र आन्तरिक रुपमा चलाउने, प्रचण्ड र नेपालका वीचको सम्वन्धमा अविश्वास पैदा गराउन आन्तरिक चलखेल गर्ने र आफनो् पक्ष प्रचण्ड र माधव नेपाल पक्षका वीचमा खेलेर अगाडी बढने रणनीतिका विषयमा भेलामा सहभागी नेताहरुले छलफल गरेका थिए ।

भेलामा प्रधानमन्त्रीले पार्टीभित्र खुम्चदै गएको पकडका विषयमा चालेको रणनीति र आउने दिनमा चाल्नुपर्ने कदमका विषयमा समेत कुराकानी भएका थिए ।

सचिवालयमै खासगरी वामदेव गौतम र झलनाथ खनाललाई आफनो पक्षमा ल्याउन प्रधानमन्त्री ओलीले मेहनत गर्नुपर्ने र नेपाल - प्रच्ण्डलाई वुहमत हुन नदिने गरि आवश्यक पर्दा जुनकुनै तयारी गर्नुपर्ने भेलाको सामुहिक निश्र्कष रहेको ति नेताले बताए ।

भेलामा निस्किएको निश्र्कष प्रधानमन्त्रीलाई सोमबार बेलुकी नै मुख्य सल्लाहकार रिमालमार्फत सुनाईएको छ । यस्ता भेला र वैठकहरु मदन भण्डारी फाउन्डेसनका नाममा आगामी दिनमा थप अगाडी बढाएर जिल्ला तहसम्मै आफनो पक्षका नेताहरुको मोर्चावन्दीमा विशेष ध्यान दिने पनि भेलाको निष्कर्ष रहेको ति नेताको भनाई छ ।

प्रतिक्रिया दिनुहोस