अवकाशअघि प्रहरी महानिरीक्षकको उद्घाटन र शिलान्यास मोह, तीन सातामा १५ उद्घाटन

पत्रपत्रिकाबाट

मंगलबार, २८ माघ २०७६, ०७ : ४९
अवकाशअघि प्रहरी महानिरीक्षकको उद्घाटन र शिलान्यास मोह, तीन सातामा १५ उद्घाटन

फाईल फोटो

काठमाडौं । सुरक्षा निकायका प्रमुखहरू सामान्यतया अवकाशभन्दा एक महिनाअघि बिदामा बस्ने प्रचलन छ । तर, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको अन्तिम महिना भने उद्घाटन र शिलान्यासमै बित्यो ।

यस अवधिमा उनले निर्माण सम्पन्न नभएका भवनको शिलान्यास र ठेक्का नै नलागेका निर्माणका कामको समेत उद्घाटन गरेका छन् । २ देखि २३ माघसम्मको अवधिमा उनले १५ वटा शिलान्यास तथा उद्घाटन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मंगलबार थप दुई उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालयका भवन उद्घाटन गर्न जाने चलन छ, तर परामर्श केन्द्रको उद्घाटनमा समेत महानिरीक्षक खनाल वीरगन्जदेखि नेपालगन्जसम्म पुगेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कहाँ कहिले उद्घाटन र शिलान्यास ?
२३ माघमा उनले बुटवलको हाटबजारमा निर्माण भएको लागुऔषध प्रयोगकर्ताका लागि स्थापना गरिएको परामर्श केन्द्रको उद्घाटन गरेका थिए । २२ माघमा नेपालगन्जमा उनले प्रहरीको विधि विज्ञान प्रयोगशाला र परामर्श केन्द्रको उद्घाटन गरे । २१ माघमा प्रहरी प्रधान कार्यालयबाटै जिल्ला प्रहरी कार्यालय बझाङको भवन भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । भवनमा आफ्नै नाम लेखाउने चाहनाअनुसार जिल्ला पुग्न नभ्याए पनि उनले मुख्यालयबाटै उद्घाटन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस