कोको बन्दै छन् नयाँ सचिव ?

पत्रपत्रिकाबाट

आइतबार, २६ माघ २०७६, ०८ : २४
कोको बन्दै छन् नयाँ सचिव ?

काठमाडौं । निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य अगाडि बढाएको राजधानी दैनिकमा खबर छ ।

गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रस्टका गजेन्द्र ठाकुर भर्खरै मात्रै सेवा निवृत्त भएपछि सचिव पद रिक्त भएको हो । यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि पदावधि सकिनुअगावै राजीनामा दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रक्रिया थालेसँगै रिक्त प्रशासनतर्फको तीन सचिव पदमा वरिष्ठ सहसचिवहरू एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनी सचिव बन्ने निश्चित छ । सचिवमा बढुवा हुने तयारीमा रहेका सहसचिवहरूमध्ये अर्याल हाल कोलकातास्थित नेपाली महावाणिज्यदूतमा कार्यरत छन् ।
अर्याल कुशल प्रशासकका रूपमा परिचित छन् । सुधारक छविका उनी गृहका अनुभवी हुन् । यी तीनमध्ये सबैभन्दा पहिला पाण्डे सचिव बन्नेछन् । पाण्डे शिक्षाका अनुभवी हुन् । पाण्डेलगत्तै अर्याल सचिव बन्नेछन् भने अर्यालपछि पुडासैनीको सचिव बन्ने बाटो खुल्नेछ ।

यसो त उनीहरू सचिव बन्नेक्रममा अन्य वरिष्ठ सहसचिवहरू अर्जुनप्रसाद पोख्रेल, लक्ष्मीकुमारी बस्नेत, मानबहादुर विके, कृष्णबहादुर राउत, गोकर्णमणि दुवाडीलगायतका सहसचिवहरू पनि बढुवाका लागि सिफारिसमा पर्नेछन् । तर, तत्काल उनीहरू सचिव बन्ने सम्भावना भने छैन ।

प्रतिक्रिया दिनुहोस