नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, २५ माघ २०७६, १४ : २६
नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ ।

आज शनिबार कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले डेब्यू खेलमा नै विश्व र्कीतिमान बनाएका छन् । उनले नेपालकै खेलाडी रोहित कुमार पौडेलले बनाएको एकदिवसीय क्रिकेटमा सबै भन्दा सानो उमेरमा अर्धशतक बनाउने रेकर्ड तोडेका छन् । 

कुशल नेपालका लागि ओडीआईमा अर्धशतक प्रहार गर्ने सातौं र विनोद आठौं खेलाडी समेत बने । विनोदले ५९ र कुशलले ५० रन बनाए । शरद भेषावरले चोटका कारण सिरिज गुमाएपछि उनको स्थानमा टिममा आएका सुवास खकुरेलले कप्तान ज्ञानेन्द्र मल्लसँग इनिङ्सको शुरुवात गरेका थिए । तर सुवास व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

ओमान विरुद्ध ओपनिङ गरेका पारस खड्का अमेरिका विरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । ज्ञानेन्द्र र पारसले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । पारस खड्का २१ रन बनाएर आउट भए ।

लगत्तै आरिफ शेख २ रन बनाएर आउट भए । ४९ रन हुँदा ५ विकेट गुमाउँदै धरासयी भएको नेपालको इनिङ्स कुशल मल्ल र विनोद भण्डारीले सम्हाले । कुशल मल्लले ओडीआई डेब्युमै कीर्तिमानी अर्धशतक प्रहार गर्दै विनोद भण्डारीसँग ८४ रनको साझेदारी गरेपछि नेपालको रन उकासिएको थियो ।

 ३६औं ओभरको दोस्रो बलमा करिम गोरेको बलमा एलमोर हचिनसनबाट क्याचआउट हुनुअघि कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए ।

त्यसपछि क्रिजमा पुगेका करण केसीले १२ रन बनाए । अघिल्लो खेलमा ओमान विरुद्ध २८ रन बनाएका सन्दीप लामिछानेले खाता नखोली आउट भए । अन्तिम ओभरको दोस्रो बलमा सुशन भारी इयान होलायण्डको बलमा आउट भएपछि नेपाल अलआउट भएको हो ।

विनोद र सुशन भारीले नवौं विकेटका लागि २६ रनको साझेदारी गरे । ४८औं ओभरको तेस्रो बलमा आउट हुनुअघि भण्डारीले ७९ बल खेल्दै ५९ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

अमेरिकाका लागि क्यामररुन स्टेभेनसनले १० ओभरमा २ मेडन राख्द ३० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सौरभ नेत्रभाल्करले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए । रस्टी थेरोनले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए ।