दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको खोर थापेको थियो ।
सात-आठ वर्षको करिब ३५ केजी तौल भएको पोथी प्रजातिको चितुवा आज विहान खोरमा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । हालसम्म भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक गरी छ चितुवालाई खोरमा पारी नियन्त्रणमा ल्याइएको छ । उहाँका अनुसार नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।
भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क पछिल्लो समय बढेको छ । गत बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ ।
चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु