कोरोना भाइरसको संक्रमण एकजनामा भएको पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २४ माघ २०७६, २३ : ०७
कोरोना भाइरसको संक्रमण एकजनामा भएको पुष्टि

काठमाडौं । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि एकजनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार  गत जनवरी २३ मा एक शंकास्पद बिरामीको रगत र र्याल नमुना जाँच गर्दा कोरोना भएको पुष्टि भएको तर त्यसयता थप १७ जना शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ पाइएको छ ।यस्तै कोराना भाइरस पुष्टि भएका १ जना व्यक्ति पनि हाल स्वस्थ भइसकेको भन्दै मन्त्रालयले सम्पर्कमा रहेका अन्य व्यक्तिहरुमा पनि कुनै लक्ष्य नदेखिएको जनाएको छ ।

यस्तै चीनमा रहेका कुनै पनि नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण नदेखिएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले शुक्रबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ । सरकारले हाल चीन तथा भारतसँगको मुख्य सीमा नाकामा हेल्थ डेस्कको स्थापना गरेर यसबारे सतर्कता अपनाइरहेको छ ।

कोरोना भाइरस चीनमा २८ हजार ६० जनामा देखिएको छ भने ५६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै चीनबाहिर २१६ जनामा देखिएको छ । यस्तै फिपिन्समा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । यो रोगबाट हालसम्म २४ देश प्रभावित भएको बताइएको छ ।