‘रङ्गशाला निर्माण पछि बचेको रकमले खेलाडी उत्पादन गर्छौ’

शुक्रबार, २४ माघ २०७६, २१ : ४८
‘रङ्गशाला निर्माण पछि बचेको रकमले खेलाडी उत्पादन गर्छौ’

चितवन । जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ ।

प्रदेश नं २ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले खेलाडी उत्पादनमा बचेको रकम खर्च गरिने बताउनुभयो ।

रङ्गशाला सम्पन्न भएपछि कसले सञ्चालन गर्दछ भन्ने पत्रकारको प्रश्नमा उहाँले भरतपुर महानगरपालिका, धुर्मुश सुन्तली फाउण्डेशन र सामाजिक अभियान्ता रहेको व्यवस्थापन समितिले रङ्गशाला सञ्चालन गर्ने प्रष्ट पार्नुभयो । त्यसको आम्दानीले नेपालमा खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने भन्दै उहाँले केही हिस्सा सामाजिक कोषमा राखेर विपतमा परेकालाई सहयोग गरिने बताउनुभयो ।

फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले आफूहरु सरकारको विरोधी नभएर सघाउन छिरेको अभियान्ता भएकाले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा प्रदेश नं २ बाट आउनुभएका रौतहटका अन्नपूर्ण कर्मी फणी महत, अन्नपूर्णकै जनकपुरका राजकरण महत्तो र कान्तिपुरका प्रदेश नं २ का ब्यूरो प्रमुख अजित तिवारीले फाउण्डेशनले प्रदेश नं २ मा बनाएका बस्ती उदाहरणीय भएको भन्दै रङ्गशाला निर्माणमा साथ र सहयोगका लागि पत्रकारको टोली आएको बताउनुभयो । 

कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले रङ्गशाला निर्माणका लागि चितवनका जनतासँगै पत्रकार लागि परेको जानकारी दिनुभयो । रङ्गशाला हेर्न प्रदेश नं २ का छ जिल्लाबाट १४ पत्रकार आएका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस