‘‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

पत्रपत्रिकाबाट

शुक्रबार, २४ माघ २०७६, ०७ : ३८
‘‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

file photo

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन् तर यसका लागि प्याकेजमा सहमति गर्नुपर्ने सत्तारुढ दलका नेताहरूको भनाइ छ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतको भनाइ छ। स्रोतका अनुसार कुराकानीमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए। तर यस विषयमा ठाकुरले स्पष्ट जवाफ दिएनन्।

स्रोतका अनुसार प्रधानमन्त्रीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए। उपसभामुखका लागि प्रधानमन्त्रीका थप सर्तहरूमा राजपा संघीय सरकारमा आउनुपर्ने, त्यसपछि मात्र संवैधानिक आयोग र राजदूतहरूमा सहमति गर्न सकिने रहेका छन्। यस विषयमा ठाकुरसँग जिज्ञासा राख्दा प्रस्ट जवाफ दिएनन्। अहिले आफू बैठकमा व्यस्त रहेको भन्दै बैठकपछि यसबारेमा जवाफ दिने बताए। प्रधानमन्त्रीसँग कुराकानीपछि ठाकुर बुधबार दिउँसो महोत्तरी पुगेका थिए। राष्ट्रियसभाको निर्वाचनपछि नेकपा र राजपाबीच सम्बन्ध सुधार भएको छ।

उक्त चुनावपछि नेकपा र राजपाका नेताहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको छ। राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पनि प्रधानमन्त्रीसँग छुट्टै कुराकानी गरेका छन्। स्रोतको दाबी छ, राजपा बहुमत नेता तत्काल प्रदेश २ सरकारको समीकरण फेर्ने पक्षमा छैनन्। तर नेकपाले उपसभामुखसँगै संघीय सरकारदेखि प्रदेश सरकारसम्म प्याकेजमा सहमति गर्न प्रस्ताव गरेको छ।

यस विषयमा राजपाले नेकपालाई प्रस्ट जवाफ नदिएको स्रोतको भनाइ छ। राजपाका सहमहासचिव जयप्रकाश ठाकुरले उपसभामुख पद राजपाले पाउनुपर्ने दाबी गरे। ‘संविधानअनुसार उपसभामुख पद राजपाले पाउनुपर्छ भन्ने हाम्रो दाबी हो,’ उनले भने, ‘तर यस विषयमा नेकपा र राजपाबीच अझै सहमति भएको छैन।’ नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस