नेपालले चीनलाई मास्क सहयोग गर्ने, चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई यी चार ठाउँमा राखिने

सफल खबर संवाददाता

विहीबार, २३ माघ २०७६, १५ : ०७
नेपालले चीनलाई मास्क सहयोग गर्ने, चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई यी चार ठाउँमा राखिने

काठमाडौं । नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई उपलव्ध गराउने निर्णय गरेको छ ।

सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा राख्ने निर्णय गरेको छ । यी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । सोही बैठकमा प्रधानमन्त्री ओलीले चीनलाई एक लाख मास्क सहयोग गरिने बताएका हुन् । 

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । उनीहरुले आफ्नो उद्दार नगरेकोमा सरकारको आलोचना गरिरहेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत उच्च अधिकारीहरु सहभागी थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘विशेष बैठकमा प्रधानमन्त्रीज्यूले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गर्नुभएको छ ।’


 

प्रतिक्रिया दिनुहोस