ललिता निवास जग्गा प्रकरण

तत्कालीन नीतिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्नेलाई उन्मुक्ति दिइयो : काँग्रेस प्रवक्ता शर्मा

सफल खबर संवाददाता

बुधबार, २२ माघ २०७६, २१ : १६
तत्कालीन नीतिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्नेलाई उन्मुक्ति दिइयो  : काँग्रेस प्रवक्ता शर्मा

काठमाडौ ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा काँग्रेस उपसभापति एवं पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नाममा मुद्धा नै दायर भएपछि पार्टी भित्र कोलाहल मच्चिएको छ । पार्टी उपसभापति  विरुद्ध मुद्धा  दायर भएपछि पार्टी प्रवक्ता विश्वप्रकास शर्माले बुधबार साँझ कडा ट्वीट गर्दै तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल प्रति इगिंत गर्दै नितिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्ने राख्ने संकेत नेकपा महासचिव विष्णु पौडेल प्रति गर्दै उन्मुक्ती दिएको भन्दै प्रश्न उठाएका छन् । उनले ट्वीटमा नेपाल प्रति ईगिंत गर्दै लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई ? बिजय गच्छदारलाई ?’

उनले अगाडि लेखेको छन् ‘एनिमल फार्म मा जर्ज अर्बेल भन्छन– सबै जनावरहरु समान हुन्छन् । तर, केही जनावरहरु बढी समान हुन्छन् ।’ ०६६मा माधव नेपालको नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्न मन्त्रिपरिषद्‍मा ७ बुँदे प्रस्ताव गएको थियो। तत्कालीन भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले प्रस्ताव अघि बढाएका थिए भने भौतिक योजना तथा निर्माण मन्त्री थिए गच्छदारले स्वीकृति दिएर मन्त्रीपरिषदमा पु¥याएका थिए ।

सोही प्रस्तावका आधारमा टेकेर मोही नै नभएका जगगामा १२ जना मोही कायम भएर १३ रोपनी बढी सरकारी जग्गा उनीहरुले पाएका थिए । ललिता निवास जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने क्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि विवादमा मुझिएका थिए । ललिता निवासको जग्गा उनका छोराको नाममा दर्ता भएको भेटिएपछि उनी विवादमा परेका थिए । तर उनी विरुद्ध कुनै पनि मुद्धा दर्ता भएको छैन् ।  शर्माले नेपाल र पौडेललाई उन्मुक्ति दिएको भन्दै प्रश्न उठाएको हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात लगायत १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले भ्रष्टचार मुद्दा दायर गरेसँगै गच्छदारको सा‌ंसद पद स्वत निलम्बनमा परेको छ ।