सवारीसाधन धोएर मात्र काठमाडौँ उपत्यका प्रवेश गर्न पाइने

रासस

बुधबार, २२ माघ २०७६, १६ : ३७
सवारीसाधन धोएर मात्र काठमाडौँ उपत्यका प्रवेश गर्न पाइने

काठमाडौँ । सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ । 

उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ । उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पटक पटक धादिङ पुगेर हेरिरहेको म आफैँ हेरिरहेको छु ।” 

अहिले झण्डै पाँच–छ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ । यसले गर्दा सवारीसाधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ । उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताउनुभयो । 

काठमाडौँ उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन् । काठमाडौँ महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन् । सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन । (रासस)

प्रतिक्रिया दिनुहोस