ललिता निवास जग्गा अनियमिततामा अख्तियारले मुद्दा दायर गर्ने

सफल खबर संवाददाता

बुधबार, २२ माघ २०७६, १६ : ३३
ललिता निवास जग्गा अनियमिततामा अख्तियारले मुद्दा दायर गर्ने

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । 
प्रमुख आयुक्त नविन घिमिरेसहित आयुक्तद्वय डा गणेशराज जोशी र सावित्री थापा गुरुङ सम्मिलित आयोग बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको हो । 

निर्णयलगत्तै अख्तियारको टोली बुधबार नै मुद्दा दर्ता गर्न विशेष अदालत पुगेको छ। अख्तियार उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण अनुसार तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको हो।

त्यसैगरी पूर्व सचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गर्ने निर्णय भएको छ। बस्न्यात अख्तियारको आयुक्त हुँदै प्रमुख आयुक्त भइसकेका व्यक्ति हुन्। पन्त चुनावी सरकारमा मन्त्री थिए।