नोवल कोरोना भाइरसको संक्रमण

चीनबाट फर्कने विद्यार्थी १४ दिन स्वास्थ्यकर्मीको निगरानीमा

पत्रपत्रिकाबाट

मंगलबार, २१ माघ २०७६, ०७ : २९
चीनबाट फर्कने विद्यार्थी १४ दिन स्वास्थ्यकर्मीको निगरानीमा

काठमाडौँ । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलबार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निमोनिया गराउने नोवल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबभन्दा जोखिम रहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ ।

मन्त्रालयका अनुसार वुहानबाट ६२ सहित हुवेई प्रान्तका अन्य मुख्य सहरबाट समेत गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो । ‘मंगलबार बेलुकासम्म क्वारेन्टाइन स्थल निर्धारण गरिसक्ने छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘चीनबाट आफ्ना नागरिक फिर्तापछि अन्य मुलुकले जस्तै हामीले पनि फर्काइएकालाई क्वारेन्टाइनमै राख्नुपर्छ ।’

आइसोलेसन (पृथकीकरण) र क्‍वारेन्टाइन भनेको संक्रामक रोगको विस्तार कम गर्न जनस्वास्थ्यअन्तर्गत अपनाइने प्रक्रिया हो । यसमा संक्रामक रोग भएकालाई स्वस्थ व्यक्तिको सम्पर्कभन्दा अलग राखेर सुरक्षा उपकरणले सुसज्जित विशेषज्ञबाट उपचार गरिन्छ । सर्ने रोगको सम्पर्कमा आएका स्वस्थ व्यक्तिलाई पनि यहाँ छुट्टै राखेर अन्य व्यक्तिसँग हिमचिम हुन दिइँदैन । उनीहरू बिरामी परे–नपरेको जान्न परीक्षण गरिनेछ ।

भारतले चीनबाट फिर्ता गरेका तीन सय जनालाई सेनाको निगरानीमा १४ दिनसम्मका लागि क्याम्पमा राखेको छ । प्रवक्ता श्रेष्ठका अनुसार क्वारेन्टाइन स्थल बस्तीबाट कति टाढा हुनुपर्ने र त्यहाँ दुई सातासम्म अन्य व्यक्ति सम्पर्कमा नआउने गरी राख्न कस्ता सुविधा हुनुपर्ने लगायत विषयमा मन्त्रालयका पदाधिकारी छलफलमा छन् ।

विभिन्न पक्षसँगको छलफलअनुसार क्वारेन्टाइन स्थल नेपाली सेनाको शिवपुरी ब्यारेक र भक्तपुरको बोडेस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायतका ठाउँ हुन सक्ने स्रोतले जनाएको छ ।

मन्त्रालयका पाँच टोली सोमबार पनि सम्भावित स्थल खोजी गर्न परिचालित थिए । क्‍वारेन्टाइनमा राखिनेहरूका लागि ओढ्ने–ओछ्याउने र खेल्ने लगायत आवश्यक ३६ थरीका सामग्री खरिद गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘सबै युवा छन् । उनीहरूलाई उचित खानपान र मनोरञ्जनको व्यवस्था हुनुपर्छ । खेलकुद र इन्टरनेटलगायत सुविधा पनि दिइनेछ ।’

क्‍वारेन्टाइनका क्रममा एउटा कोठामा दुई/तीन जनाभन्दा बढी राख्न नहुने धारणा मन्त्रालयका विशेषज्ञहरूको छ । एउटा कोठामा एक जनाभन्दा बढीलाई राख्नुपरे दुई शय्याबीचको दूरी न्यूनतम एक मिटर हुनुपर्नेतर्फ विचार पुर्‍याइनेसमेत स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

‘चीनबाट आउने नेपाली स्वस्थ व्यक्ति हुन् । उनीहरूमा आउने दिनसम्म कुनै लक्षण नदेखिएको हुनुपर्छ,’ श्रेष्ठले भने, ‘यदि आउने दिनसम्म कसैलाई चीनमै संक्रमण देखियो भने उनले मुलुक फर्कन पाउँदैनन्, उतै उपचार हुनेछ ।’ क्वारेन्टाइनमा रहनेहरूको संक्रमण, ज्वरो आदिको नियमित परीक्षण गरिनेछ ।

उनीहरूमा दुई सातासम्म ज्वरो तथा संक्रमण आदिको लक्षण नदेखिए मात्र त्यहाँ राखिन्छ । ज्वरो र संक्रमणको लक्षण देखियो भने तुरुन्त क्वारेन्टाइनबाट हटाएर टेकुको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिने श्रेष्ठले जनाए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस