दाइजोको निहुँमा महिला हिंसा बढ्दो

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, ११ : ०७
दाइजोको निहुँमा महिला हिंसा बढ्दो

काठमाडौँ । मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार दाइजो लिने दिने प्रचलनलाई कानुनी रुपमा सजायँ हुने स्पष्ट रुपमा व्यवस्था गरिएको भएपनि दाइजो नल्याएको वा कम ल्याएको निहुँमा महिलामाथि हिंसा हुने क्रम रोकिन सकेको छैन ।

महिलाई जिउँदै जलाउने, कुटपीट गर्ने, मानसिक यातना दिने, घरनिकाला गर्ने, आत्महत्या गर्न बाध्य बनाउने, परिवारबाट वेवास्ता गर्ने जस्ता घटनाहरु दिनप्रतिदिन सार्वजनिक भइरहेका छन् । गत असोज महिनामा धनुषाकी प्रीति शाहलाई दाइजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमान र ससुराले बारम्बार शारीरिक तथा मानसिक यातना दिएपछि सहन नसकी आत्महत्या गर्न बाध्य बनाइएको घटना होस् या ३ महिना अघि दाइजोको कारणले सासु र श्रीमान्बाट मरणासन्न हुने गरी शारीरिक यातना खेप्न बाध्य बनाइएको वीरगञ्ज महानगरपालिकाकी रञ्जुदेवीको घटना किन नहोस् ।

यी र यस्ता घटनाहरु दाइजोको कारण महिला माथि भएका हिंसाका प्रतिनिधिमूलक घटना मात्र हुन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले गरेको अध्ययनअनुसार पछिल्ला ६ महिनामा २९ जना महिलामाथि दाइजोको कारणले विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ ।

संकलन गरिएका जम्मा ७२४ वटा महिला हिंसाका घटनाहरु मध्ये २९ वटा दाइजोसम्बन्धी घटनामा १६ जना महिलामाथि दाइजोको कारण कुटपीट भएको, ५ जना महिलामाथि मानसिक हिंसा भएको र ४ जनालाई घरनिकाला गरिएको पाइएको छ ।

यस्तै २ जनाको हत्या, १ जनाको हत्या प्रयास र १ जना आत्महत्या गर्न बाध्य भएको पाइएको छ । पौष महिनामा मात्रै ११२ जना महिलामाथि हिंसा भएको पाइएको छ । यसरी संकलित घटनाहरुमध्ये सबैभन्दा धेरै ४९ प्रतिशत (५५ जना) महिलाहरुमाथि घरेलु हिंसा, १८ प्रतिशत (२० जना) यौन हिंसा, १० प्रतिशत (११ जना) सामाजिक हिंसा, सोही प्रतिशतमा ११ जना महिलाको हत्या, ८ प्रतिशत (९ जना) बेचविखन, २–२ प्रतिशत (३ जना र २ जना) आत्महत्या र हत्या प्रयास र १ प्रतिशत बेचविखनको प्रयासका घटनाहरु अभिलेखीकरण गरिएको संस्थाले जनाएको छ ।

हिंसा प्रभावित महिलाहरुमध्ये सबै भन्दा बढी ४५ प्रतिशत (५१ जना) श्रीमानबाट, २२ प्रतिशत (२५ जना) छिमेकीबाट र १२ प्रतिशत (११ जना) महिलाहरु परिवारका सदस्यवाट हिंसा प्रभावित भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस