दसगजामा निर्मित संरचनामा डोजर

पत्रपत्रिकाबाट

शुक्रबार, १७ माघ २०७६, ०८ : ३९
दसगजामा निर्मित संरचनामा डोजर

सांकेतिक तस्बिर ।

बारा । नेपाल–भारतको दसगजा क्षेत्रमा अवैध रूपमा बनाइका घर टहरा डोजर लगाएर हटाइएको छ । दसगजा क्षेत्र ‘नो मेन्स ल्यान्ड’ भएकाले सो सिमाना कसैको नभएको हुँदा त्यसलाई खाली गराइएको हो ।

छिमेकी मुलुक भारतको सिमानामा जोडिएको बाराको मटिअर्वा नाका वरिपरि सीमा क्षेत्रको करिब ५ किलोमिटर लामो भूभागमा रहेका अवैध घरटहरा र पसल सशस्त्र प्रहरीले खाली गराएको छ । मटिअर्वास्थित पिलर संख्या ३८३ मा बनाइएका घरटहरा खाली गराइएको हो ।

नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा सीमा क्षेत्रमा रहेका भौतिक संरचना हटाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताए । दसगजा क्षेत्रमा ३९ घर परिवारले घर पसल गरेर बसेका थिए । त्यसमध्ये अधिकांश नेपाली पक्षले घरटहरा बनाएका थिए भने ३ भारतीयले पसल गरेर बसेका थिए ।
लामो समयदेखि सीमा क्षेत्रमा रहेको दसगजाको अधिकांश भूभागलाई दुवैतर्फका स्थानीयले अतिक्रमण गरी निजी कामका लागि प्रयोग गर्दै आइरहेका थिए । सीमा स्तम्भका रूपमा रहने जंगे, मझौला तथा साना पिलरलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका भौतिक संरचनाका कारण सीमा स्तम्भसमेत फेला पार्न कठिन हुँदै आएको थियो ।

‘दसगजाका पाँच किलोमिटरलाई नमुना दसगजा निर्माण गरेका छौं, प्रहरी उपरीक्षक सुवेदीले भने, ‘सो क्षेत्रमा सीमा अतिक्रमण गर्न हुँदैन चोरी पैठारी गर्नहुँदैन दसगजा कसैको पनि हँुदैन भन्ने सन्देश दिन विभिन्न नाकामा सन्देशमूलक सूचनाबोर्डसमेत लगाएका छौं ।’

सन्देशमूलक जनजेतनामूलक कार्यक्रमले धेरै नै सहयोग पु¥याएको भन्दै अतिक्रमित दसगाजा खाली गराउन आफूहरूले कुनै किसिमको बल प्रयोग गर्नु नपरेकोे प्रहरी उपरीक्षक सुवेदीले बताए ।

दसगाजाको पाँच किलोमिटर जग्गामा ३९ जनाले अतिक्रमण गरेको जग्गा खाली गराएको उनको भनाइ छ । दसगजामा लगाइएको घरपसल र खेती गरेकालाई समेत खाली गराएकाले दसगाजा क्षेत्र आर्कषित ठाउँ भएको प्रमुख जिल्ला अधिकारी फनिन्दमणि पोखरेलले बताए ।

यसलाई निरन्तरता दिन अनुगमन गर्न सुरक्षा नियकालाई निर्देशन दिएको उनको दाबी छ ।  बाराको ६० किलोमिटर सीमा इलाकाको सीमा सुरक्षा गर्न सातवटा बोर्डर आउट पोस्ट निमार्ण गरी सशस्त्र प्रहरीले दसगाजाको सुराक्षामा तैनाथ रहेका छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस