भरतपुर विमानस्थल विस्तार प्रक्रिया : कार्यदलको प्रतिवेदनमाथि रक्षामन्त्रालयमा छलफल

केही समस्या छैन : कार्यदल

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, १६ : ३४
भरतपुर विमानस्थल विस्तार प्रक्रिया : कार्यदलको प्रतिवेदनमाथि रक्षामन्त्रालयमा छलफल

भरतपुर । भरतपुर विमानस्थल विस्तारसम्बन्धमा अध्ययन गर्न बनेको गठित कार्यदलको प्रतिवेदनमाथि आज सोमबार रक्षा मन्त्रालयमा छलफल भएको छ ।  

छलफलमा विमानस्थलको स्त्तरोन्नती तथा विस्तारका लागि अध्ययन गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा विमानस्थलको स्त्तरोन्नती तथा विस्तार गर्न कुनै समस्या नरहेको जनाएको छ । कार्यदलले भरतपुर विमानस्थलको स्त्तरोन्नति तथा विस्तार गर्ने काम छिटै सुरु गर्न सकिने बताएको छ । 

२०७६ असोज २ गते नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको थियो । सोही कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो ।

छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायतको उपस्थिति रहेको थियो ।भरतपुर विमानस्थलको विस्तारको संभावना र चुनौतीबारे कार्यदलले प्रतिवेदन तयार पारेको थियो । 

‘सहज ढंगले विमानस्थलको स्त्तरोन्नती तथा विस्तार गर्न सकिने र कुनै क्षेत्रबाट बाधा अवरोध नभएको यस बिषयमा साझा सहमति जुटेको छ’ प्रतिवेदनमा भनिएको छ । 
छलफलपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले बिमानस्थलको सुधारका लागि सबै पक्षबाट साझा प्रतिबद्धता आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘कार्यदलले अध्ययन गरी निकालेको प्रतिवेदनमा कुनै समस्या नदेखिएको उल्लेख छ, त्यसकारण अब विमानस्थलको विस्तारको काम जोडबलले अगाडि बढ्छ ।’


भरतपुर विमानस्थलको स्त्तरोन्नती तथा विस्तारको आवश्यकता ठानेर करिव ३ महिना अघि भरतपुर महानगरले सर्वपक्षीय छलफल गरेको थियो ।  नेकपा अध्यक्ष प्रचण्ड, पर्यटनमन्त्री भट्टराईसमेत सहभागी उक्त छलफलले विमानस्थल विस्तारको निर्णय गरेको थियो । 

भरतपुर विमानस्थल विस्तार गर्ने निर्णयपछि पर्यटन मन्त्रालयले अध्ययनको लागि कार्यदल गठन गरेको थियो । सोही कार्यदलले पर्यटन मन्त्रालयलाई विमानस्थल विस्तारको प्रक्रिया अघि बढाउन सुझाव दिएको छ । 
‘सुधारको आवश्यकता ठानेर यसका लागि अध्ययन टोली गठन गरेको थियो, त्यही टोलीले तयार गरेको प्रतिवेदन आज हामीले रक्षा मन्त्रालयमा सरोकारवाला सबै पक्षलाई बुझाएर छलफल गरेका हौं’ महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, ‘विमानस्थल अघि बढाउन सबै प्रतिबद्ध हुनुहुन्छ ।’

भरतपुर विमानस्थलको क्षेत्रफल बिस्तारका लागि स्थानीय सैनिक व्यारेकको स्थान्तरणको समस्या देखिएको थियो । त्यसका लागि सेनाले संरचना हटाउने सहमति जनाएको प्रमुख दाहालले बताउनुभयो ।

त्यस्तै बिमानस्थल बिस्तारका लागि आवश्यक स्थानको रुख काट्नुपर्ने र यसका लागि महानगरले तत्परता दिने उहाँको भनाइ छ । कृष्णपुर मैघौली सडकलाई डाइभर्ट गर्नुपर्ने भएकाले यसका लागि स्थानीयसंग आवश्यक समन्वय महानगरले गर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । विमानस्थलको स्त्तरोन्नती तथा विस्तारका लागि भरतपुर महानगर, नेपाल नागरिक उड्ययन प्राधिकरण र नेपाली सेनाले गर्नुपर्ने काम तथा जिम्मेवारी पनि प्रतिवेदनले बाँडेको छ ।


 

प्रतिक्रिया दिनुहोस