यसरी गरिदैंछ नेकपा केन्द्रीय समिति बैठकको तयारी

५ दिनका लागि राष्ट्रिय सभा गृह बुकिङ, खाने बस्ने ब्यवस्थापन आफैले गर्नुपर्ने, चियाखाजा मात्र पार्टीले खुवाउने

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, ०९ : ०१
यसरी गरिदैंछ नेकपा केन्द्रीय समिति बैठकको तयारी

file photo

काठमाडौं । सत्तारुढ दल नेकपाको २१ महिनापछि पार्टी केन्द्रीय समिति बैठक बस्दैछ । विधानतः ६–६ महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक २१ महिनामा पार्टी एकतापछि पहिलो पटक बस्न लागेको हो ।  बैठक माघ १५ बाट राष्ट्रिय सभा गृहमा बस्ने तय भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

तत्कालिन एमाले र माओवादी केन्दबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि नेकपाको केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन् । बैठकका लागि उसले मुख्य तीन वटा एजेण्डा तय गरेको छ । पहिलो, राजनीतिक प्रतिवेदन पेश गर्ने र छलफल पछि पारित गर्ने, दोश्रो विधान संसोधन गर्ने, संगठन विभागलाई केही अधिकारहरु थप गर्ने, पार्टी केन्द्रमा सचिवालय सदस्य वामदेव गौतमलाई विधान संसोधन गरेर उपाध्यक्ष पद सिर्जना गरि उपाध्यक्ष बनाउने र तेश्रो समसामायिक प्रस्ताव पास गर्ने मुख्य यी तीन एजेण्डामा छलफल गर्न बस्न लागेको केन्द्रीय समिति बैठक पार्टीको एकता महाधिवेशन र सरकारको कामको समिक्षामा पनि केन्द्रीत हुने अनुमान नेताहरुले लगाएका छन् ।

बैठक बढीमा ५ दिन भित्र सक्ने गरी तयारी भईरहेको महासचिव पौडेलले बताए । बैठकका लागि राष्ट्रिय सभा गृह ५ दिनका लागि बुकिङ गरिएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार, बैठकको तयारीका सम्पूर्ण काम करिब पूरा भएका छन् । ‘केन्द्रीय समिति बैठकको सम्पूर्ण तयारी पूरा भईसकेको छ,’ ढकालले भने ।

गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो । तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव, सभामुख चयन प्रक्रिया लगायतका कारण देखाउँदै बैठक माघ १५ सम्मलाई सार्ने निर्णय लिएको थियो । 
कार्यलयमा ठाउँ अभाव, राष्ट्रिय सभामा बैठक
नेकपाको पार्टी एकतापछि केन्द्रीय समिति जम्बो बनेको छ । नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ । माघ १५ देखि बस्न लागेको बैठकमा आमन्त्रित स्थायी समिति सदस्यसहित ४ सय ४७ जना नेता सहभागी हुन्छन् ।

यति ठूलो संख्याका केन्द्रीय समिति बैठक बस्न नेकपालाई केन्द्रीय कार्यालयमा ठाँउ अभाव भएपछि उसले पार्टी प्यालेस, बैंकेट या सभागृहहरुको खोजी गरेको थियो । पार्टी बैठक गर्मागर्मी बहस हुने देखेपछि उसले सुरक्षित स्थानको पनि खोजी गर्न थाल्यो । त्यही क्रममा फेला प¥यो, राष्ट्रिय सभा गृह । महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वर रिजाल बैठक स्थलको खोजी र त्यसको ब्यवस्थापन तयारीका लागि जुटेका थिए ।

उनीहरुले राष्ट्रिय सभा गृहलाई उपयुक्त ठानी त्यहाँ बैठक राख्नका लागि ५ दिन बुकिङ गर्ने काम गरे । आइतबार मात्रै पनि पौडेल नेतृत्वको टोलीले सभा गृहका सम्पूर्ण हल, कोठा र वरपरका क्षेत्रहरुको अवलोकन गरी तयारीका कामलाई तिव्रता दिने काम गरेको केन्द्रीय कार्यालयका सचिव समेत रहेका केन्द्रीय सदस्य ढकालले बताए । 
समुह विभाजन गरी छलफल हुने
नेकपाले पार्टी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संसोधन प्रस्ताव लगायतका विषयमा केन्द्रीय सदस्यहरुका बीचमै समुह विभाजन गरी छलफल गराउने भएको छ । बैठकमै सबै सदस्यहरुलाई बोल्न दिदा समय धेरै लाग्ने र बैठक नै समेत दुई चार महिना नै जाने देखेपछि उसले विकल्पका रुपमा समुह विभाजन गरी छलफल गराउने तयारी गरेको हो ।

बैठकको पहिलो दिन अध्यक्षद्वयका तफबाट राजनीतिक प्रतिवेदन र महासचिवका तर्फवाट विद्यान संसोधन प्रस्ताव पेश भएपछि सहभागी नेताहरुको समुह विभाजन गर्ने नेकपाले जनाएको छ ।

त्यसरी समुह विभाजन गरेपछि प्रतिवेदनहरुमाथीको समुह छलफलका लागि भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडास्थित कार्यालय र सभागृह गरी तीन स्थानमा ठाँउमा छलफल गर्ने गरी ब्यवस्थापन गरिन लागिएको छ । ‘समुह छलफल सहज रुपमा होस भन्नका लागि तीन स्थानमा गराउने गरि तयारी भएको छ, यसरी गर्दा ठाँउ सहज पुग्छ पनि,’ ढकालले भने ।

खान–बस्न आफै, खाजा पार्टीले ब्यवस्थापन गर्ने
केन्द्रीय समिति सदस्यलाई पार्टी बैठकमा आउँदा खानबस्ने ब्यवस्था आफैं मिलाउन केन्द्रीय कार्यालयले सूचना पठाएको छ । बैठक अवधीभरको चिया–खाजाको ब्यवस्थापन भने पार्टीले गर्ने जानकारी नेताहरुलाई गराईएको छ । खाजाका लागि क्याटरिङलाई जिम्मा दिने तयारी नेकपाले गरेको छ । कार्यलय सचिव ढकालले भने,–‘ बैठकमा सहभागी नेताहरुका लागि हाइजेनिक खाजाका लागि क्याटरिङलाई जिम्मा दिने तयारी छ ।

तर क्याटरिङले खाजाको ब्यवस्थापनका लागि खाजा पाकेट बाहिर बनाएर ल्याउन नपाइने गरी सभा गृहमै मेस राखेर बनाउनु पर्ने गरि कोटेशन आव्हान गरिएको छ । क्याटरिङको काम पनि आज टुंगो लाग्छ ।’ क्याटरिङका लागि नेकपाले अनमोल, एवान, एलएन घिमिरेले सिंहदरबार अगाडी हालै सञ्चालनमा ल्याएको क्याटरिङ लगायतसँग छलफल नेकपाले गरिरहेको छ ।

ति क्याटरिङसँग खाजाको मेनु र मूल्य सूची नेकपाले माग गरेको छ । क्याटरिङलाई ४ सय ४७ केन्द्रीय नेता, शीर्ष नेताहरुका स्टाफ, सेक्युरेटी लगायत गरि ७ सय जनालाई ५ दिनका लागि खाजा ब्यवस्थापन गर्नुपर्ने गरि नेकपाले कोटेसन माग गरेको छ ।

केन्द्रीय सदस्यलाई सवै डकुमेन्ट छपाई प्रिन्टमा उपलब्ध गराइने
पार्टी एकतायताका सबै पार्टी निर्णय, दस्तावेजहरु नेकपाले पार्टी नेताहरुलाई यही वैठकमा उपलब्ध गराउने भएको छ । केन्द्रीय समितिमा अध्यक्षदयले पेश गर्ने दस्तावेज समेत छपाई गरेरै वितरण गर्ने योजना नेकपाले वनाएको छ ।

आइतबार मात्रै दुई अध्यक्षको निर्देशनमा महासचिवलाई बैठक तयारीका बारेमा बिफ्रिङ गरेका कार्यालय सचिवद्दयले आवश्यक तयारी पूरा भएको तर अव दस्तावेज आफुहरुलाई छपाईका लागि छिटो उपलब्ध गराईदिन आग्रह गरिएको सचिव ढकालले बताए । ‘हामीले पार्टीका सबै डकुमेन्टहरु प्रेसमा छापेरै नेताहरुलाई उपलब्ध गराउने योजना बनाएका छौं, त्यसका लागि डकुमेन्टहरु उपलब्ध गराउन अब नेताहरुलाई आग्रह गरेका छौं,’ ढकालले भने ।

यसरी चल्छ केन्द्रीय समिति बैठक 

१५ माघ :         बिहान ११ वजेवाट केन्द्रीय समिति बैठक शुरु । अध्यक्षद्वयको सम्बोधनसँगै 
                      राजनीतिक प्रतिवेदन, विधान संसोधन प्रस्ताव प्रस्तुत हुने । केन्द्रीय  
                      सदस्यहरुको समुह विभाजन ।
१६ माघ :        समुहका समुह नेताहरुको चयन । दस्तावेजमाथी समुहगत छलफल । राष्ट्रिय 
                     सभा गृह, धुम्बाराही पार्टी कार्यालय र पेरिसडाँडा पार्टी सम्पर्क कार्यालयमा 
                      छुट्टाछुट्टै छलफल ।
१७, १८ माघः    समुह छलफलबाट प्राप्त सुझावहरु समुह नेताबाट केन्द्रीय समिति 
                     बैठकमा प्रस्तुत । भिन्न मत आएमा उनीहरुलाई पनि मत राख्न दिने 
                     सम्भावना  ।
१९ माघ :        समुह नेताहरुले विधान संसोधनमा उठाएका जवाफ महासचिव र राजनीतिक 
                     प्रतिवेदनमा उठाएका प्रश्नमा अध्यक्षद्वयले जवाफ दिने । पार्टी अभियान, 
                     समसामायिक प्रस्ताव पारित गदै केन्द्रीय समिति बैठक समापन ।

प्रतिक्रिया दिनुहोस