सञ्चारविहीन हुँदा लोकसेवा आयोगको अनलाइन फर्म भर्न पाएनन्

रासस

शुक्रबार, १० माघ २०७६, २० : १३
सञ्चारविहीन हुँदा लोकसेवा आयोगको अनलाइन फर्म भर्न पाएनन्

काठमाडौं । सञ्चारविहीन हुँदा जुम्लाका सयौँ विद्यार्र्थीलाई लोकसेवा आयोगको नायव सुब्बा र अनुसन्धान सूचक पदमा अनलाईन फर्म भर्न समस्या भएको छ । 

एक हप्ता अगाडि कालीकोटको भत्तास्थित स्तम्भमा खराबी आएपछि जुम्ला सञ्चारविहीन बनेको थियो । आज दिउँसो १२ बजे सञ्चार आए पनि अनलाइनद्वारा गरिने काम राम्रोसँग हुन नसकेको जुम्लास्थित लोकसेवा आयोग तथा अन्य सरकारी कार्यालयको राजश्व दाखिलाको काम गर्दै आएका सन्राइज सइबरका सञ्चालक रवीन्द्र नेपालीले बताउनुभयो । 

लोकसेवा आयोगले भर्खरै खुलाएको नायब सुब्बा र राष्ट्रिय अनुसन्धान आयोगको सूचक पदमा अनलाइन फर्म भर्न दिनहँु ३०० देखि ७०० युवायुवती दिनभर लाइन बसे पनि नेटले राम्रोसँग काम नगर्दा फर्म कसरी भरिनेमा चित्ता रहेको नायब सुब्बा पदको फर्म भर्न आएका २४ वर्षीया  सुजन शाहीले बताउनुभयो । सञ्चार सेवा बन्द भएका कारण यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको छ ।

नेपाल टेलिकम शाखा जुम्लाले मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको जनाएको छ । सेवा सञ्चालनका लागि बिहीबार देखिनै प्राविधिक टोली कालीकोटको भत्तामा पुगेर काम गरिरहेको सो शाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस