दुई वर्ष उत्साहवर्द्धक हुन सकेन, निराशाजनक पनि छैन : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, १७ : ००
दुई वर्ष उत्साहवर्द्धक हुन सकेन, निराशाजनक पनि छैन : प्रचण्ड

नवलपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले सरकारका दुई वर्ष उत्साहवर्द्धक हुन नसकेको र निराशाजनक अवस्था पनि नरहेको बताउनुभएको छ । 

नवलपुरमा पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले सरकारका कामको राम्रो प्रचार हुन नसकेको गुनासो पनि गर्नुभयो । 
दुई वर्ष त्यतिधैरै उत्साहवर्द्धक हुन सकेन। त्यतिधेरै निराशाजनक पनि छैन। सरकार र पार्टीले गरेका राम्रा काम प्रचार गर्ने काम भएनु, प्रचण्डले भन्नुभयो, ‘पार्टी कमिटी क्रियाशील नभएकाले राम्रा काम स्थापित गर्ने काम हुन सकेन।’

उनले स्थानीय र प्रादेशिक सरकारको गल्ती कमजोरी सच्याउन पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभयो।  स्थानीय सरकारका कारण कतिपय जनगुनासो देखा परेको तर समाधान गर्न नसकिएको उहाँको भनाइ छ । 

अब सरकारको तीन वर्ष बाँकी छ। अन्तिम वर्ष चुनावी वर्ष भएर आउँछ। दुई वर्षमा विकास निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने योजना अगाडि बढाउन जरूरी छ, उहाँले भन्नुभयो, ‘युद्धस्तरमा काम अगाडि बढाउनु पर्नेछ ।’

प्रचण्डले एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताउनुभयो । यसबारे पार्टीमा पर्याप्त छलफल भएको भन्दै उहाँले भन्नुभयो, ‘हामीले के भनेका छौं भने राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेका छौं ।’

प्रचण्डले राजनीतिक आन्दोलनमा पार्टीले सत्ता चलाउनु पर्ने बताउनुभयो ।

सत्ताले पार्टी चलाउने हैन। सरकारलाई आफ्नो उद्देश्य मूल्यमान्यतातिर लैजानु पर्छ। केही ढिला भयो। तर बिग्रेको छैन, उहाँले भन्नुभयो, ‘बाँकी तीन वर्ष पार्टी एकतावद्ध गरेर जनताको समस्या नजिकबाट समाधान गर्नुपर्छ। अब आउने बजेट पूरै लोकप्रिय हुनुपर्छ भन्ने मत छ। बजेट पार्टीप्रति जनतालाई उत्साहित गर्नेगरि ल्याउनेमा ध्यान छ।’

प्रतिक्रिया दिनुहोस