नारायणकाजीलाई अब खुलेका यी हुन् दुई विकल्प !

नेकपा प्रवक्ता श्रेष्ठलाई अब राष्ट्रिय सभामा दलका नेता बन्न र सरकारमा सहभागी हुने दुई विकल्प खुल्ला भएको छ

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, ०९ : ४२
नारायणकाजीलाई अब खुलेका यी हुन् दुई विकल्प !

काठमाडौं । नेकपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ (प्रकाश) जनअनुमोदित भएर पहिलो पटक संसद प्रवेश गरेका छन् । बिहिबार सम्पन्न राष्ट्रिय सभा चुनावमा उनी गण्डकी प्रदेशको अन्य समुहबाट निर्वाचित भएर राष्ट्रिय सभा प्रवेश गर्न लागेका हुन् । बिहिवार राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन भएको थियो ।

उनी राष्ट्रिय सभामा निर्वाचित भएपनि संसदमा प्रवेशका लागि भने उनले अझै ४० दिन पर्खनुपर्ने हुन्छ । उनी निर्वाचित भएका पदमा अझै फागुन २० सम्म अर्कै सांसदले कार्यभार सम्हालिरहेका हुन्छन् । यस अर्थमा उनी हिजोबाट ‘वेटिङ सांसद’ का रुपमा छन् । संविधानतः राष्ट्रिय सभामा रिक्त हुने पदमा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेकोले फागुन २० बाट कार्यकाल सकिन लागेको १८ पदका लागि हिजो बिहिवार नै चुनाव गराईएको हो ।

६ वर्षपछि आगामी ६ वर्षकै लागि श्रेष्ठको सिंहदरवार पूनरागमन हुन लागेको हो । उनी २०६५ मा पहिलो संविधानसभामा तत्कालिन राष्ट्रपतिवाट मनोनित २६ जनाको कोटामा मनोनित भएर सिंहदरवार प्रवेश गरेका थिए । दोश्रो संविधानसभामा उनी मकवानपुरबाट प्रत्यक्ष चुनाव लडेपनि विजयी बन्न सकेनन् । गत प्रतिनिधीसभा चुनावमा उनी गोरखा २ मा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग चुनावी प्रतिस्पर्धामा पराजित हुन पुगे ।

उनको संसद प्रवेश सोही कारण ब्रेक लाग्दै आएको थियो । तर पार्टीले उनलाई संसदीय भूमिकामा ल्याउन चाहेका कारण राष्ट्रिय सभा उम्मेदवार बनायो । बिहिवारको राष्ट्रिय सभा चुनावमा निर्वाचित भएपछि अब उनका लागि सिहंदरबार ढोका खुलेको छ । श्रेष्ठको संसद प्रवेशसँगै अब उनका सम्भावित विकल्पका बारेमा पनि चर्चा शुरु हुन थालेको छ ।

‘उहाँ (नारायणकाजी) का अगाडी अब दुईटा बाटो खुल्ला भएको छ,’ नेकपा सचिवालयका एक सदस्यले सफलखबरसँग भने,–‘पहिलो आफु निर्वाचित राष्ट्रिय सभामा दल नेता बन्ने, दोश्रो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुने ।’ राष्ट्रिय सभामा अहिले नेकपाका तर्फवाट दल नेता छन, दिनानाथ शर्मा । पूर्व माओवादी धारका नेता शर्मा भन्दा श्रेष्ठ पार्टीमा सिनियर छन् । हुन त श्रेष्ठ भन्दा राष्ट्रिय सभामै रहेका हालका गृहमन्त्री रामबहादुर थापा (बादल) पनि सिनियर नै हुन् ।

बादल मन्त्री रहेका कारण शर्माले पार्टीका तर्फबाट दल नेता बन्ने अवसर प्राप्त गरेका थिए  । श्रेष्ठको राष्ट्रिय सभा प्रवेशसँगै उनले चाहेमा अब त्यो पद उनका लागि खुल्ला हुनेछन् । अर्थात अहिलेका दल नेता शर्माले श्रेष्ठलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी छोडिदिनुपर्ने हुनसक्छन् । राष्ट्रिय सभामा निर्वाचित भएसँगै नेकपा प्रवक्ता श्रेष्ठका लागि खुलेको यो पहिलो भविश्यको विकल्प हो । दोश्रो विकल्प पनि श्रेष्ठका लागि खुल्ला भएको छ । त्यो हो – क्याबिनेटमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिएर सहभागी हुने ।

विगतमा उनीसँग उपप्रधानमन्त्री सहित परराष्ट्र, स्थानिय विकास र १३ दिन गृहमन्त्रालयसम्मको जिम्मेवारी सम्हालेको अनुभव छ । सरकारको पारदर्शीता र प्रभावकारीताका लागि निरन्तर पार्टीभित्र आवाज उठाउँदै आएका श्रेष्ठलाई राष्ट्रिय सभा उम्मेदवार बनाइदै गर्दा पनि धेरैको मनमा लागेको छ, उनलाई नेकपाले अब मन्त्री बनाउनका लागि राष्ट्रिय सभामा लैजान लागेको छ । स्यवं श्रेष्ठले पनि आफुलाई पार्टीले आवश्यकता ठानेर राष्ट्रिय सभामा लैजान चाहेको प्रतिक्रिया दिएका थिए ।

निर्वाचित पछि पनि उनले आफुले पार्टी एजेण्डामा रहेर थप भूमिका निर्वाह गर्ने बताईसकेका छन् । यसले पनि उनका लागि अब सरकारमा सहभागी हुने ढोका पनि दोश्रो सम्भावित विकल्पका रुपमा खुलेको छ । तर संविधानको एउटा धाराले भने उनी मन्त्री बन्न पाउने÷नपाउनेमा भने केही कानुनी झन्झट ल्याईदिन सक्ने विश्लेषण पनि राजनीतिक वृत्तमा छ ।

संविधानको धारा ७८ (४)मा उपधारा १ मा जुनसुकै कुरा लेखिएपनि तत्काल कायम रहेको प्रतिनिधीसभाको निर्वाचनमा पराजित भएको ब्यक्ति त्यस्तो प्रतिनिधीसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदका लागि तत्काल योग्य हुने छैन भन्ने लेखिएको छ ।

श्रेष्ठ यही प्रतिनिधीसभाको कार्यकालका लागि गोरखा २ बाट पराजित भएका थिए । तर संविधानले राष्ट्रिय सभामा निर्वाचित भए भन्ने विषयमा कहीकतै केही नबोलेका कारण श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित भएका कारण मन्त्री बन्न रोक्न नसक्ने काुननविदहरुले बताउन थालेका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधीसभाका सांसदहरुका बीचमा एउटै मात्र विभेद छ, त्यो हो–राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री भने बन्न नपाउने । तर मन्त्री बन्नलाई राष्ट्रिय सभा सदस्यलाई कुनै छेकबार लाग्ने छैन् । यसो हुदाँ राष्ट्रिय सभा सदस्यका रुपमा निर्वाचित भईसकेपछि श्रेष्ठलाई अब उपप्रधानसहित महत्वपूर्ण मन्त्रालयको जिम्मा लिएर सरकारमा जाने दोश्रो विकल्पको बाटो पनि खुल्ला भएको छ ।
 

प्रतिक्रिया दिनुहोस