तीन सय प्रतिशतसम्म महँगो भयो तरकारीको भाउ

पत्रपत्रिकाबाट

शुक्रबार, १० माघ २०७६, ०८ : ११
तीन सय प्रतिशतसम्म महँगो भयो तरकारीको भाउ

काठमाडौँ । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ । असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष यसै अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले सबैभन्दा बढी महँगो सुकेको प्याज भएको छ । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपियाँमा कारोबार भएको प्याज अहिले प्रतिकेजीको ११५ रुपियाँ थोकमा कारोबार भइरहेको छ । यस्तै बन्दाको मूल्य पनि अघिल्लो वर्ष यस अवधिको तुलनामा अहिले ३२२ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष यस अवधिमा प्रतिकेजी आठ÷नौ रुपियाँ थोकमा पाइने बन्दागोबी अहिले थोकमै प्रतिकेजीको ४० रुपियाँमा किनबेच भइरहेको छ । त्यसैगरी अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले आलु प्रतिकेजीमा ७० प्रतिशतसम्म महँगो भएको छ भने काउली ४० प्रतिशतसम्म भएको समितिले जनाएको छ ।

आलु पनि गत वर्ष यस अवधिको तुलनामा अहिले ७० प्रतिशतसम्मले महँगो भएको छ । प्रतिकेजी २७÷२८ रुपियाँ थोकमा कारोबार भएको आलु अहिले सो परिणामको आलु थोकमै ५० रुपियाँभन्दा बढी छ ।  समितिका अनुसार सो अवधिमा प्रतिकेजी १२ रुपियाँमा थोकमा किनबेच भएको सेतो मुला अहिले बढेर २५ रुपियाँ, मटरकोसा ३५ रुपियाँ केजीबाट बढेर ६५ रुपियाँ, पाकेको फर्सी २२ रुपियाँबाट बढेर ४२ रुपियाँमा कारोबार भएको छ ।

त्यसो त नेपाल राष्ट्र बैङ्कले यही साता सार्वजनिक गरेको पाँच महिनाको प्रतिवेदनमा तरकारीलगायत खाद्यवस्तुको मूल्य नौ दशमलव ७६ प्रतिशत महँगो भएको उल्लेख छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा समग्र महँगी ६ दशमलव ५५ प्रतिशतले बढेको पनि सोही प्रतिवेदनमा छ । गोरखापत्रमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस