प्याजमा घूस लिने प्रहरी निरीक्षकविरुद्ध मुद्दा

पत्रपत्रिकाबाट

शुक्रबार, १० माघ २०७६, ०७ : ०९
प्याजमा घूस लिने प्रहरी निरीक्षकविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याजमा घूस लिएको अभियोगमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका निरीक्षक अमृत थापासहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिने गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।

अख्तियारले दैलेखको श्री पीपलचौतरा माध्यमिक विद्यालय डुंगेश्वर ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ । शाहीले म्यासेन्जरमार्फत शिक्षक छनोट परीक्षामा प्रश्नपत्र र उत्तरकुञ्जिका पठाई आफ्नो मान्छेलाई उत्तीर्ण गराएको पाइएकाले नियन्त्रणमा लिइएको अख्तियारले उल्लेख गरेको छ ।

शाहीले प्रश्नपत्र र उत्तरकुञ्जिका उपलब्ध गराई शिक्षकमा घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई छनोट गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले शाहीका अतिरिक्त भण्डारी र विकलाई समेत पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस