आज राष्ट्रियसभा निर्वाचन : अर्थमन्‍त्री खतिवडासहित १९ सदस्य बिदा हुँदै

पत्रपत्रिकाबाट

विहीबार, ०९ माघ २०७६, ०७ : ५८
आज राष्ट्रियसभा निर्वाचन : अर्थमन्‍त्री खतिवडासहित १९ सदस्य बिदा हुँदै

काठमाडौं । संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि बिहीबार मतदान हुंदैछ। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।  ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन्। बिहीबार निर्वाचन भए पनि १९ सदस्यको कार्यकाल भने फागुन २० मा सकिने छ। अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ सदस्यको दुई वर्षे कार्यकाल पूरा हुन लागेको हो।

निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पुरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। आयोगले सात प्रदेशका उच्च अदालत रहेका सातवटा स्थानमा मतदान स्थल तोकेको छ। 

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन्। आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका लागि मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेको बताएका छन्।

प्रदेश १ को बिराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ। उक्त केन्द्रमा यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ८४ गरी ३ सय ६७ मतदाता छन्।  प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवनमा मतदान स्थल तोकिएको छ। प्रदेश २ मा १ सय ७ प्रदेशसभा सदस्य र २ सय ७२ स्थानीय तहका गरी ३ सय ७९ जना मतदाता छन्।

बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ। प्रदेश सभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता छन्।  यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदानस्थल तोकिएको छ। उक्त स्थलमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जना मतदाता रहेका छन्।

को को बिदा हुँदैछन् ? 
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेकपाका ९, नेपाली नेपाली कांग्रेसका ७, राजपाका दुई र समाजवादी पार्टीका एक  सदस्य छन् । 

बिदा हुनेमा  सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।