आमाछोरी हत्या गर्नेलाई १ लाख जरिवाना सहित आजिवन कारावास

पत्रपत्रिकाबाट

विहीबार, ०९ माघ २०७६, ०७ : ०२
आमाछोरी हत्या गर्नेलाई १ लाख जरिवाना सहित आजिवन कारावास

उदयपुर । त्रियुगा–९ चौकीबारीमा साढे तीन वर्षअघि आमाछोरीको हत्याका आरोपितलाई जिल्ला अदालत उदयपुरले आजीवन कारावासको फैसला सुनाएको छ । अदालतले पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसलासमेत गरेको छ ।

हत्या आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका ४० वर्षीय रामहरि साहलाई आजीवन कारावासको सजाय सुनाइएको हो। उनको साथमा फेला परेको सुनको रिङ र मंगलसूत्र पीडितको भएको कसुरदारले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेशसमेत दिएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए। 

साहले ०७६ असोज २४ गते साँझ २८ वर्षीया गोमा भनिने शारदा चौधरी र उनकी ६ वर्षीया छोरी रचना चौधरीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो।

घरमा आमा र छोरी मात्रै बसेको थाहा पाएका साहले हत्या गर्ने योजना बनाएका थिए। उनी एक्लैले आमाछोरीको हत्या गरी फरार भएका थिए। उनलाई प्रहरीले असोज २५ मा मोतिगडाबाट पक्राउ गरेको थियो।

साहले प्रहरीसँगको बयानमा विगत लामो समयदेखि शारदासँग प्रेम सम्बन्ध रहेको र विवाह अस्वीकार गरेपछि हत्या गरेको स्विकारेका छन्। मृतकसँगको सम्बन्धपछि जेठी पत्नीलाई सिरहा घरमा छोडेर विवाह गर्ने योजनाका साथ मोतिगडामा बस्दै आएका साहले प्रेम सम्बन्ध विवाहमा परिणत नभएपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका थिए। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस