सवारी लाइसेन्स बनाइदिने भनी पैसा लिने दुई पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, २१ : ३२
सवारी लाइसेन्स बनाइदिने भनी पैसा लिने दुई पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहादुर रोकाया र धादिङका ३८ वर्षीय गणेश गुरुङलाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले लिखित परीक्षमा पास गरिदिने भन्दै रु दुई हजार लिएकाले पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूमा पठाएको महाशाखाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस