उपसभामुख तुम्बाहाम्फेले अब के गर्लिन् ?

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, ०९ : ३४
उपसभामुख तुम्बाहाम्फेले अब के गर्लिन् ?

काठमाडौं । पार्टी निर्णयलाई चुनौति दिँदै आफैंलाई सभामुख उम्मेदवार नबनाएसम्म पदबाट राजीनामा नदिने अडान लिदैं आईरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अब के गर्लिन् ? नेकपाले उनलाई नभई स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने आइतबार औपचारिक निर्णय गरेपछि अब तुम्बाहाम्फेले के गर्लिन् ? अब राजनीतिक चासो त्यतातिर छ ।

४ पुसवाट शुरु भएको संसदको हिउँदे अधिवेशन सभामुख चयनका विषयमा संसदमा झण्डै दुई तिहाई बहुमत रहेको दल नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा पटक पटक सूचना टाँस गदै स्थगित हुदै आएको थियो । उपसभामुखले संसद बैठक राखेर सभामुख निर्वाचन प्रक्रिया थालेमा नेकपा सभामुखवाट संविधानतः बन्चित हुनुपर्ने अवस्थामा थियो ।

ही बाध्यात्मक अवस्थामा बार्गेनिङ गरिरहेकी उपसभामुख तुम्बाहाम्फेको अडानमा अन्ततः पार्टीले निर्णय नदिएपछि अब उनले के गर्छिन् भन्ने चासो बढनु स्वभाविक पनि हो । पार्टीका दुई अध्यक्षले आइतबार बिहान सापकोटालाई सभामुख बनाउने गरि सहमति जुटाएपछि पनि उनले प्रधानमन्त्री ओलीलाई आफ्नो दोष के हो ? भन्दै प्रश्न गर्न बालुवाटार पुगेकी थिइन् । 

पार्टी समिकरणमै कमजोर बन्दै गएका प्रधानमन्त्री ओलीसँग तुम्बाहाम्फेले तत्कालिन सभामुख महराको दोषीको भागिदार आफुलाई बनाउने ? मेरो के दोष थियो ? यसको लिखित जवाफ चाहिन्छ भन्दै सवाल जवाफ गर्न तुम्बाहाम्फे आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् । ओलीले उनलाई पार्टीभित्रको शक्ति सन्तुलनको अवस्था जानकार गराउँदै राजीनामा दिन सुझाएका थिए । त्यसपछि उठेर हिडेकी तुम्बाहाम्फे सञ्चारमाध्यमसँगको सम्र्पकमा आउन चाहिरहेकी छैनन् ।

संसदको बैठक आजै दिउँसो १ बजेका लागि बोलाईएको छ । अब उनले के गर्छिन् ? सबैको नजर उनैतिर सोझिएको छ । संसद बैठक शुरु हुनु अगाडी उनले राजीनामा नदिई संसद चलाएर सभामुख निर्वाचन प्रक्रिया अगाडी बढाएमा नेकपाले सभामुखमा उम्मेदवार दिन पाउदैंन ।

आफै संसद चलाउने र निर्वाचन प्रक्रिया अगाडी बढाउने उनको विगतको धम्की अब के होला ? तर नेकपा महासचिव विष्णु पौडेल उपसभामुखले पार्टीले सभामुखको उम्मेदवार चयन गरिसकेकाले आफनो पदबाट राजीनामा दिने विश्वास ब्यक्त गर्छन् ।

‘उहाँ (तुम्बाहाम्फे)ले आज संसद चल्नु भन्दा अगाडी  नै राजीनामा दिनुहुन्छ,’ महासचिव पौडेलले भने,–‘पार्टीका निर्णयपछि उहाँले राजीनामा दिएर सहज बाटो खोल्नुहुन्छ भन्ने विश्वास हामीले गरेका हौं ।’ तुम्बाहाम्फेले राजीनामा दिए ज्येष्ठ सदस्यका रुपमा संसदको आजको बैठक नै राजपा संसदीय दलका नेता महन्थ ठाकुरले अध्यक्षता गर्नेछन् । हुन त नागरिकताको उमेरका आधारमा राजपाकै अध्यक्षमण्डलका अहिलेका संयोजक महेन्द्रराय यादव संसद सदस्यमा सबैभन्दा ज्येष्ठ सदस्य हुन् ।

तर उनको नागरिकतामा उमेर बढाईएकोले संसदमा उनी उपस्थित नभई त्यसमध्येको जेष्ठका आधारमा महन्थले संसदको बैठकको अध्यक्षता गर्नेछन् । यस अगाडी पनि संसदको पहिलो बैठक त्यसै गरी महन्थले नै अध्यक्षता गरेका थिए । यादव बैठकमा अनुपस्थित भईदिएका थिए ।  तुम्बाहाम्फेका सवालमा नेकपाले आवश्यक पर्दा र उनले माग गरेको खण्डमा मन्त्री बनाइने आश्वासन दिएका छन् ।

कानुन र सहरी विकास मध्ये एक मन्त्री तुम्बाहाम्फेलाई दिन सकिनेमा नेकपाका दुवै अध्यक्ष करिब सहमति नजिक रहेको बताइन्छ । तर तुम्बाहाम्फेले त्यसरी पदको बार्गेनिङ गर्छिन् या पार्टी निर्णयलाई सहज स्वीकार गरेर उपसभामुख पद छोडछिन् ? त्यो भने हेर्न बाँकी छ । नेकपा शीर्ष नेतृत्वले संसद बैठक अगाडी तुम्बाहाम्फेसँग एक चरण अहिले छलफल गर्ने कार्यक्रम बनाएका छन् । त्यसपछि नै तुम्बाहाम्फेको निर्णय आउने उनको सचिवालयले जनाएको छ । 

उनको यस अगाडीको अडानभित्र प्रधानमन्त्रीकै पनि ढाडस रहेको र पार्टीको पछिल्लो निर्णय प्रक्रियामा प्रधानमन्त्री स्यवं कमजोर देखिएपछि अन्ततः अब तुम्बाहाम्फेले राजीनामा गर्नुको विकल्प नभएको पनि नेकपाकै नेताहरु बताउँछन् । उनले संसद सुचारु हुन केहीबेर अगाडी राजीनामा दिने गरि मनस्थिती भने बनाईसकेकी उनको नीजि सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस