ओली–प्रचण्ड बालुवाटारमा निर्णायक छलफलमा

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, १० : ५२
ओली–प्रचण्ड बालुवाटारमा निर्णायक छलफलमा

काठमाडौं । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच सभामुख चयनका लागि निर्णायक छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षका बीचमा एक घण्टा यता छलफल जारी छ ।

छलफलमा दुई अध्यक्ष बिच ‘वान टु वान‘ वार्ता भईरहेको छ । संसदको भोली बैठक रहेकोले त्यस अगाडी नै पार्टीवाट सभामुख चयन गरी सक्नुपर्ने दबाबमा नेकपा छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफनो राजीनामा अगाडी पार्टीले सभामुख चयन गर्नुपर्ने शर्त तेस्र्याएका कारण पनि नेकपाका दुई अध्यक्षलाई सकभर आजै सभामुख चयनको निर्णय लिनुपर्ने बाध्यता छ ।

दुई अध्यक्ष बिच कुरा मिलेमा आजै साँझ या भोली बिहानसम्म सचिवालय बैठक बसेर सभामुख चयनको निर्णय नेकपाले लिने तयारी गरेको छ । भोलीको संसद बैठक अगाडी नै उपसभामुखले राजीनामा दिने र बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले गरेर निर्वाचन प्रक्रियामा लैजान नेकपाले चाहेको छ । त्यसका लागि पनि उसले पार्टीका तर्फवाट सभामुख उम्मेदवार चयन गर्नुपर्ने दबाबमा ओली र प्रचण्ड छन् ।

नेकपाभित्र सभामुख पूर्व भागवन्डाका आधारमा पूर्व माओवादीले पाउनुपर्ने पार्टीभित्र बलियो मत छ  । सभामुखमा नेकपावाट पूर्व सभामुख सुवास नेम्वाङ, उपसभामुख शिवमाया तुम्बाहाम्फे, अग्नि सापकोटा, पम्फा भुषाल, हरिबोल गजुरेल, देव गुरुङ लगायतको नाम चर्चामा छ ।

जर्नादन शर्माले भने आफु रेसमै नरहेको सामाजिक सन्जालमै उल्लेख गरेका छन् । पछिल्लो चरण देवेन्द्र पौडेलले पनि सभामुखको आफु पनि उम्मेदवार रहेको निकटहरुसँग बताउन थालेका छन् । यही आकांक्षी उम्मेदवारहरुको बीचवाट नाम टुंगो लगाउन ओली प्रचण्डलाई दबाब छ ।