माक्र्सवाद र समाजवादबाट मात्रै मुलुककोे आर्थिक विकास हुन्छ : नारायणकाजी श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, १८ : २७
माक्र्सवाद र समाजवादबाट मात्रै मुलुककोे आर्थिक विकास हुन्छ : नारायणकाजी श्रेष्ठ

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माक्र्सवाद र समाजवादबाट मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने बताउनु भएको छ । दुई तिहाई कम्युनिष्ट सरकारको गन्तव्य भनेकै समाजवाद   भएको बताउँदै उहाँले कम्युनिष्टले दिने लोकतन्त्र भनेको विश्वको सबभन्दा उन्नत लोकतन्त्र हुनु पर्नेमा जोड दिनुभयो । उहाँले अहिले व्यवहारमा कताकता कम्युनिष्ट कुण्ठित भएको जस्तो देखिने गरेको बताउँदै यसमा सच्चिनु पर्नेमा जोड दिनुभयो ।   

नेता श्रेष्ठले पार्टीभित्र जनवादलाई सुरक्षित नगरिकन, पार्टीभित्र आलोचनात्मक चेतको विकास नगरिकन सच्चा कम्युनिष्ट पार्टी नबन्ने र सच्चा कम्युनिष्ट पार्टी नबनेसम्म समाजवादको अभ्यास भइरहन नसक्ने दावी गर्नुभयो ।

कम्युनिष्ट पार्टीले भनेको सबै कुरा मान्नुपर्ने, त्यही कुरा भन्दै हिन्नुपर्ने जस्तो देखिन थालेको भन्दै श्रेष्ठले यस्तो गरेमा समाज गतिशील र सृजनात्मक नहुने बताउनु भयो । समाजलाई गतिशील र सृजनात्मक बनाउन जनताले मन खोलेर भन्न पाउने वातावरण निर्माण गर्नुपर्ने समेत बताउनु भयो ।

राष्ट्रिय सभाका उमेद्वार समेत रहनुभएका श्रेष्ठले पार्टीमा हरेक पार्टी सदस्यहरुको आलोचनात्मक चेतको विकास हुनुपर्ने समेत बताउनु भयो । नवलपुरको कावासोतीमा शुक्रबार नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश तथा जिल्ला कमिटी नवलपुरको आयोजनामा भएको राष्ट्रिय सभा निर्वाचन सन्दर्भमा उम्मेद्वाार, मतदाता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले ठिकलाई ठिक भन्ने वेठिकलाई वेठिक भन्ने दृष्टिकोण निर्माण हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘खाली दृष्टिकोण सुशोभित भएर मात्रै पुग्दैन । ठिकलाई ठिक भन्ने वेठिकलाई वेठिक भन्ने हैसियत त्यो सांस्कृतिक स्तरको विकास हुनुपर्छ ।

नेकपाका नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय सभाका उमेद्वार भगवती न्यौपाने, केन्द्रीय सदस्य किशन शर्मा गैह्रेले समेत बोल्नुभएको थियो । कार्यक्रममा पार्टी नवलपुर जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय कमिटी सदस्य तिलक महत, केन्द्रीय सदस्य रविन्द्र अधिकारी, केन्द्रीय सदस्य तथा संसद सचेतक शान्ता चौधरी, प्रदेश कमिटी सदस्यहरु, स्थानीय तहमा नेकपाबाट विजयी भएका जनप्रतिनिधी एवम् कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस