पर्यटक तान्दै शाश्वतधाममा रहेको बौद्ध सूचना केन्द्र

सूर्यप्रकाश कँडेल

विहीबार, ०२ माघ २०७६, १६ : ५८
पर्यटक तान्दै शाश्वतधाममा रहेको बौद्ध सूचना केन्द्र

नवलपुर । माघेसंक्रान्तिमा देवघाटधाममा स्नान गर्न काठमाडौँबाट चितवन आएका ४५ वर्षीय सरोज ढकाल बिहीबार शाश्वतधाम परिसरमा भेटिए । शाश्वतधामको मध्यभागमा रहेको गुम्बज शैलीको शिव मन्दिर अगाडि सेल्फी खिचेपछि उनको नजर मन्दिर पछाडि रहेको बौद्ध सूचना केन्द्रमा पुग्यो । त्यहाँ पुगेर उनले थप सेल्फीमात्र खिचेनन्, बौद्ध धर्म र सँस्कृतिबारे जानकारी पनि लिए ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले गति लिन थालेसँगै नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधाममा पर्यटक आगमन बढेको छ । शाश्वतधाममा रहेको बौद्ध सूचना केन्द्रमा समेत पर्यटकको उपस्थिति बाक्लो हुन थालेको छ । नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० पर्यटकीय गन्तव्यभित्र परेको नवलपुरस्थित शाश्वतधाम परिसरमा रहेको बौद्ध सूचना केन्द्र अहिले सबै धर्मावलम्बीहरुका लागि प्रमुख आकर्षण बन्दै गएको छ । 

बौद्ध सूचना केन्द्रभित्र पसेपछि बौद्ध धर्म, यसको विकास, यसको महत्व, बुद्धका उपदेशदेखि लिएर बौद्ध धर्मसँग जोडिएका सबै कुराको जानकारी आफूले पाएको ढकालले बताए । शाश्वतधाम परिसरमा भेटिएका ढकालले शिव मन्दिर, बुद्धको मूर्ती र बौद्ध स्तुपा एउटै परिसरमा पाउँदा धार्मिक विविधताको अनुभव गरेको सुनाए ।

सूचना केन्द्रमा चार वटा हल छन् । नेपाल हलमा बौद्ध धर्म नेपालबाट कसरी शुरु भयो भन्नेदेखि बौद्धधर्म र नेपालसँग सम्बन्धित सबै कुराको जानकारी लिन सकिने शास्वतधामकी आध्यात्म विकास व्यवस्थापक शैलजा कसजुले जानकारी दिइन् । उनी भन्छिन्,“ नेपाल हलभित्र हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरु नेपालमा कसरी मिलेर बसेका छन् ? बौद्ध धर्म नेपालबाट कसरी संसारभर फैलियो ? भन्ने जानकारी लिन सकिन्छ ।” सूचना केन्द्रको पसिरमा आकर्षक चैत्य छ । जहाँ श्रीलंकाबाट ल्याएर बुद्धको अस्तु धातु राखिएको छ । 

साँस्कृतिक हलमा बौद्ध धर्मसँग जोडिएका पुराना सामग्री, साँस्कृतिक चिनारीका बस्तु, बिभिन्न जातजातिका बारेमा अथाह जानकारी छ । सूचना केन्द्रभित्र छिरेपछि कुनै पनि कुराको कमी नहोस् भनेर व्यवस्थापन गरिएको कसजु बताउँछिन् । 

अर्को हल हो सिनेमा हल । यस हलमा भने बौद्ध धर्मसँग सम्बन्धित बिभिन्न फिल्म हेर्न सकिन्छ । “फिल्म हेरेर नै आगन्तुकहरुले धेरै कुराको जानकारी लिन सक्नुहुन्छ । यो प्रभावकारी पनि देखिएको छ” कसजुले भनिन् । 

अर्को ईन्टरनेशनल हल पनि छ, जहाँ बौद्धधर्मका बारेमा जानकारी दिनुका साथै मूर्तीमा कुँदेर बुद्धको जीवनीलाई आकर्षक तवरले राखिएको छ । यहाँ संसारभर कसरी बौद्ध धर्म फैलियो ? संसारमा बौद्ध धर्म कहाँ कहाँ मान्छन् ?  लगायतका बिषयमा जानकारी राखिएको छ । 

नयाँ पुस्तालाई बौद्ध सँस्कृतिबारे जानकारी

चौधरी उद्योग ग्राम दुम्कौलीका वरिष्ठ प्रबन्धक रामचन्द्र धिताल नयाँ पुस्तालाई बौद्ध सँस्कृतिबारे जानकारी दिन एकदमै मेहनतका साथ बौद्ध सूचना केन्द्र तयार गरिएको बताउँछन् । उनी भन्छन्, “हामीले कुनै पनि कुराको कमी नहोस् भनेर ख्याल गरेका छौं । आगन्तुकले बौद्ध धर्मसँग सम्बन्धित नयाँ कुरा थाहा पाउन् भनेर त्यसको जानकारी केन्द्रमा राख्ने गरेका छौं ।” 

आगन्तुकहरुको सकारात्मक प्रतिकृयाले उत्साह थपिएको बताउँदै धितालले शाश्वतधामलाई पर्यटकीय स्थल र फोटो खिच्ने ठाउँको रुपमा मात्र नबुझ्न आग्रह गरे । “धामभित्र हरेक कुरा छ , यहाँ सस्कार सिक्न सकिन्छ , सस्कृतिका बारेमा बुझ्न सकिन्छ” उनले भने, “शाश्वत धामलाई सबैले आफ्नो महसुस गर्ने गरी यसको विकास गरिरहेका छौं ।” 

शाश्वतधाम २०७३ साल फागुन २४ गतेबाट सर्वसाधारणका लागि खुल्ला गरिएको हो । बौद्ध सूचना केन्द्र भने २०७५ साल मंसिर १ गते देखि संचालनमा आएको हो ।  नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने शाश्वतधाममा दैनिक हजारौ मानिस आउने गर्दछन् । अहिलेसम्म ३३ लाखभन्दा बढीले शाश्वतधाम अवलोकन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस