देवघाट गण्डकी प्रदेशको पर्यटकीय गन्तव्य : मन्त्री लम्साल

प्रकाश सिग्देल

बुधबार, ०१ माघ २०७६, १५ : ४०
देवघाट गण्डकी प्रदेशको पर्यटकीय गन्तव्य : मन्त्री लम्साल

–प्रकाश सिग्देल
देवघाट । गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री विकास लम्सालले देवघाट गण्डकी प्रदेशको पर्यटकीय गन्तव्य बनेको बताउनुभएको छ । 

देवघाटको एकीकृत विकासका लागि गण्डकी प्रदेश लागिरहेको उहाँको भनाइ थियो । माघे संक्रान्तिका अवसरमा देवघाटमा स्नान गर्न आउनु भएका मन्त्री लम्सालले सफल खवरसँग कुराकानी गर्दै देवघाट देशकै महत्वपूर्ण पवित्र धार्मिक स्थल भएकाले यहाँ पूर्वाधारको विकास गरी यसलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न, वागमती, गण्डकी र लुम्बिनी प्रदेश मिलेर एककृत विकासको लागी प्रयास भइरहेको बताउनुभयो ।

गण्डकी प्रदेश २०२२ मा २२ लाख पर्यटक ल्याउने योजनामा रहेको र त्यो योजनामा धार्मिक पर्यटकीय गन्तव्य स्थलका रुपमा देवघाटलाई महत्वपुर्ण रुपमा हेरिएको बताउँदै उहाँले देवघाटधाम नेपालीहरुको आस्थाको केन्द्र त्रिशूली र काली गण्डकीको संगमस्थल पवित्र धार्मिकस्थल भएका कारणले यसको विकास गरी लाखौँ लाख पर्यटक यहाँ भित्र्याउन सकिने बताउनुभयो ।

हिमाल पहाड तराई सबै क्षेत्रका नेपालीहरुमा मकर संक्रान्तिमा एक पटक देवघाटमा स्नान गर्नैैपर्छ भन्ने चाहना रहने गरेको र यहाँ स्नान गरेमा पवित्र भइन्छ भन्ने धार्मिक विश्वास पनि रहेको बताउँदैै उहाँले यही मान्यतालाई पर्यटनसँग जोड्ने गरी मन्त्रालयले बिशेष योजना समेत बनाएको बताउनुभयो ।

देवघाटमा धेरै समस्याहरु रहेको बताउँदै उहाँले देवघाटमा रहेका सबै समस्या समाधानमा आफुले विशेष पहल गर्ने समेत बताउनु भयो ।

देवघाटमा झोलुगें पुलको समस्या, शौचायको अभाव, मन्दिरहरुमा नदीको कटानको समस्या रहेको र यी सबै समस्या अव तिन वटा प्रदेश मिलेर संयुक्त रुपमा हल गरी देवघाटलाई नमुना बनाउने दावी गर्नुभयो ।  

दासढुगांदेखि देवघाटसम्म आउने बाटोको स्तर विकासमा पनि सरकारले ध्यान दिएको र देवघाटबाट बन्चरे पहाड हँुदै काली नदीको किनारैकिनार जाने बाटो बिस्तारमा पनि प्रदेश सरकारको ध्यान गएको उहाँको भनाइ छ । 

सो अवसरमा देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले देवघाटको विकासका लागि त्रिकोणात्मक पुल निर्माणसंगै अन्य भौतिक पुर्वाधार बिकामा पहल गरिदिन मन्त्रि लम्साललाई आग्रह गर्नु भएको थियो ।  

स्नानका लागी देवघाट आउनुभएका बृहत्तर जनकपुर धाम बिकास परिषदका अध्यक्ष तथा पतन्जली योग पिठ नेपालका प्रमुख शालिकराम सिहंले देवघाट नेपाल मात्र नभई भारतका नागरिकहरुको लागि पनि पुण्यभूमि भएको बताउँदै यहाँको ब्यवस्थापनमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस