विश्व बरियतामा प्रिन्सको छलाङ

रासस

मंगलबार, २९ पुस २०७६, १४ : ११
विश्व बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिनुभएको छ । 

    एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा हुनुहुन्थ्यो । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ । प्रिन्सले प्राप्त गर्नुभएको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो । हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अङ्कले पराजित हुनुभएको थियो । भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा हुनुहुन्छ । 

    दुई साताअघि प्रिन्स विश्व बरियताको ३२औँ स्थानमा हुनुहुन्थ्यो । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उहाँको बरियतामा उल्लेख्य सुधार भएको हो । ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा हुनुहुन्छ भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा हुनुहुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस