विश्व

सात वर्षमै साढे चार लाख मारिएको सिरियाली गृहयुद्धको यस्तो छ नालीबेली

एजेन्सी

सोमबार, २९ माघ २०७४, १२ : ५७
सात वर्षमै साढे चार लाख मारिएको सिरियाली गृहयुद्धको यस्तो छ नालीबेली

अलजजिरा । सिरियाली द्वन्द्व सातौँ वर्षमा प्रवेश गर्दै गर्दा ४,६५,००० सिरियालीहरूले युद्धको क्रममा ज्यान गुमाइसकेको छन् । दश लाखभन्दा बढी घाइते भए । १ करोड २० लाख सिरियाली नागरिक आफ्नो घरबाट विस्थापित छन् (यो सङ्ख्या युद्ध सुरु हुनुभन्दा अघिको सिरियाको जनसङ्ख्याको आधा हो । )

सन् २०११ मा सुरु भएको अरब क्रान्तिले ट्युनिसियाली राष्ट्रपति जिने अल अविदिने बेन अलि र इजिप्टका राष्ट्रपति होस्नी मुबारकलाई सत्ताचुत गर्यो ।

सो वर्ष मार्चमा सिरियामा पनि शान्तिपूर्ण विरोध भयो । यो विरोध अरब जनलहरको समर्थनमा ‘ग्राफ्फिट्टी’ बनाउने १५ युवाहरूको गिरफ्तारी र यातनाको खबर बाहिर आएपछि सुरु भएको थियो । समातिएका मध्ये एक १३ वर्षे हम्जा अल खतिब चरम यातनापछि मारिएका थिए ।

राष्ट्रपति बसार अल असाद नेतृत्वको सिरियाली सरकारले यो विरोध प्रदर्शनमा चरम दमन गर्यो । उसले सयौँ प्रदर्शनकारीको हत्या गर्यो र कैयौँलाई जेलमा थुन्यो । यसै क्रममा जुलाई २०११ मा सरकारी सेनाबाट एक हिस्साले विद्रोह गरेर आफूलाई ‘फ्री सिरियन आर्मी’को नाममा सरकार विरुद्ध युद्धको घोषणा गर्यो । यो घटनालाई सिरिया गृहयुद्धको प्रस्थान विन्दु मानिन्छ ।

विद्रोहको कारण
सुरुमा देशमा विद्यमान आर्थिक सङ्कट र स्वतन्त्रतामाथिको बन्देजले सरकारको विरोधमा जनआक्रोस उठेको थियो । शान्तिपूर्ण विरोधमा सरकारको कडा दमनले आगोमा घिउको काम गर्यो । ट्युनिसिया र इजिप्टमा भएको सफल उभारले प्रजातन्त्र पक्षधर अभियानकर्तामा उत्साह र आशा थियो । यसमा धार्मिक समूहहरू पहिलेदेखि सरकारको विरोधमा गोप्य रूपमा काम गरिरहेका थिए ।

इस्लामिक अभियानकर्ताहरू असादको सरकारले अँगालेको धर्मनिरपेक्ष नीतिमा असन्तुष्ट थिए । १९८२ मा बसारको बुवा हफेज अल–असाद राष्ट्रपति रहँदा नै इस्लामिक राज्यको माग गर्ने मुस्लिम ब्रदरहुडमाथि सैन्य कारबाही गरिएको थियो । सो समयमा १०,०००–४०,००० ब्रदरहुड कार्यकार्ता मारिएका थिए । त्यो बेला सो समूहको आधार इलाका रहेको हमा सहर लगभग रित्तिएको थियो ।

प्रारम्भमा विरोध शान्तिपूर्ण रहुन्जेल यो मूलतः गैर–सम्प्रदायिक प्रकृतिको थियो । पछि विरोधले सैन्य रूप लिएपछि यसले स्पष्ट रूपमा साम्प्रदायिक चरित्र धारण गर्यो । देशको अल्पसङ्खयक सिया समूहले असादको सरकारको समर्थन गर्न थाले र बहुसङ्ख्यक सुन्नीहरूले असादको बहिगर्मनका लागि भइरहेको आन्दोलनमा सहभागिता वा सहानुभूति दर्साए । राष्ट्रपति असाद र सेनाका उच्च पदाधिकारीहरू अल्पसङ्ख्यक सिया समुदायका रहेका छन् । यो साम्प्रदायिक विभाजन कुन क्षेत्रीय शक्तिले युद्धमा कुन पक्षलाई सघाइरहेका छन् भन्नेमा पनि झल्किन्छ ।

सो सङ्कटमा मौसम परिवर्तनको पनि केही हात रहेको खोजले देखाएको छ । २००७–१० मा सिरियामा विषम खडेरी परेको थियो । यसले गर्दा जीविकाका लागि १५ लाखभन्दा बढी मानिस छोटो समयमा गाउँबाट सहरतिर बसाइँ सरे । यसले सहरको स्रोतमाथि ठूलो भार पर्यो । सरकारले त्यो भार व्यवस्थापन गर्न नसक्दा असन्तुष्टि चुलिरहेको थियो । त्यही समयमा अरब जनलहरको प्रभाव सिरिया भित्रियो ।

अन्तर्राष्ट्रिय संलग्नता
बाह्य शक्तिराष्ट्रको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताले सिरियाली गृहयुद्धले आजको बृहत् आकार लिएको हो ।

अमेरिकी सरकारले बारम्बार असाद सरकारप्रति असन्तुष्टि जनाए पनि ऊ सो द्वन्द्वमा प्रत्यक्ष संलग्न हुन सुरुदेखि नै अनिच्छुक देखिन्थ्यो । यहाँसम्म कि २०१३ मा असाद सरकारले विद्रोहीको केन्द्रहरूमा रासायनिक हमला गरेको हल्ला बाहिर आइरहँदा पनि उसले प्रत्यक्ष आक्रमण गरेन । जब कि तत्कालीन राष्ट्रपति बाराक ओबामाले यस्तो कार्य प्रत्यक्ष हस्तक्षेपका लागि रातो घेरा हुने भनेका थिए ।

अक्टोबर २०१५ मा अमेरिकाले प्रत्यक्ष रूपमा संलग्न नरहे पनि सरकार विरोधी विद्रोहीहरूलाई हतियार र तालिमका लागि ठूलो मात्रामा खर्च गरिरहेको सार्वजनिक भयो । अमेरिकी रणनीति निर्माताहरू बीचमै सो गोप्य कार्यक्रम अत्यन्त खर्चिलो भइरहेको भनेर त्यसलाई रोक्ने विषयमा मतान्तर रहेका खबर बाहिर आयो । रिपोर्ट अनुसार ६० विद्रोहीहरूलाई तालिम दिन मात्र ५० करोड डलर खर्च भएको थियो ।


अमेरिकाले सोही गृहयुद्धले सिर्जना गरेको कमजोर राज्य नियन्त्रणको फलस्वरूप ग्रामीण इलाकामा विकराल रूपमा उदाएको आई.एस.विरुद्ध आक्रमणका क्रममा मात्र पहिलो पटक सिरियाली भूमिमा हवाई हमला गरेको थियो ।

अमेरिकाले असाद सरकारविरुद्ध नै लक्षित गरेर २०१७ अप्रिल ७ मा पहिलो आक्रमण गर्यो । ५९ टोमाहक क्रुज मिसाइलहरू त्यो सिरिया हवाई आधारमा हानिएको थियो, जहाँबाट केही दिनअघि खान सेइखौनमा रासायनिक आक्रमण गरिएको विश्वास गरिएको थियो ।

रसियाले सन् २०१५ सेप्टेम्बरदेखि नै सिरियामा रहेका, उसको भाषामा, आतङ्कवादी समूहविरुद्ध हवाई आक्रमण गर्न थालेको थियो । यसमा आई.एस.को अतिरिक्त पश्चिमा राष्ट्र समर्थित विद्रोही समूहसमेत पर्थे । रसियाले सिरियाली सरकारको प्रतिरक्षाका लागि आफ्ना अनुभवी सैन्य सल्लाहकार सिरिया नै पठाएको छ । रसियाको सहयोगले सिरिया सरकारको आत्मरक्षाका लागि सञ्जीवनी बुट्टीको काम गर्यो । रुसको आगमनभन्दा अघि राजधानीमा सीमित रहेर प्रतिरक्षाको अवस्थामा पुगेको असाद सरकार हाल विद्रोहीलाई प्रतिरक्षाको अवस्थामा पुर्याउने अवस्थामा पुगेको छ ।

संयुक्त राष्ट्रको सुरक्षा परिषदमा रसियाले पश्चिमी राष्ट्रले सिरियाबारे ल्याएका आठ सङ्कल्प प्रस्तावविरुद्ध भिटो प्रयोग गर्यो । चीनले समेत छ पटक भिटो प्रयोग गरेको छ ।

छिमेकी राष्ट्रहरूको संलग्नता
टर्की र अधिकांश अरब क्षेत्रीय शक्तिहरूले द्वन्द्वको कुनै एक पक्षको समर्थन गरिरहेका छन् ।

बहुसङ्ख्यक सिया रहेको इराक र इरानले असाद सरकारलाई सघाइरहँदा बाँकी अरब राष्ट्र र टर्की भने विद्रोही सैन्यलाई समर्थन गरिरहेका छन् । लेबनानका हेजबुल्लहरूले भने सरकारको पक्षमा आफै नै युद्धमा सहभागी रहेको छ ।

२०१७ अगस्टमा प्रकाशित एक खोज–रिपोर्टले साउदी अरब, यू.ए.ई. र अमेरिकीले अजरबैजानी एअरलाईको प्रयोग गरेर ठूलो मात्रामा हतियारहरू सिरिया भित्र्याइरहेको सार्वजनिक गर्यो । जसमध्य धेरैजसो आई.एस. र कुर्दिस लडाकुहरूको हातमा समेत पुगेको देखिएको छ ।

सन् २०१६ अगस्टमा फ्री सिरियन आर्मीको समर्थनसमेत लिएर टर्किस सैन्य र विशेष फौजले आई.एस.विरुद्ध विशेष अभियान सुरु गर्यो । टर्कीले सो अभियान आफूसँग सीमा जोडिएको जरब्लस सहरमा केन्द्रित गरेको थियो । सो अभियानको खास कारण टर्की आफ्नो सीमामा जोडिएको उक्त क्षेत्रमा आई.एस. विरुद्धको लडाइँमा हावी हुँदै गएको कुर्द समूह विजेता भएमा वारि आफ्नो मुलुकमा स्वतन्त्र कुुर्द मुलुक मागिरहेका कुर्द पार्टी पी.के.के.को बलियो पकड हुने डरले काम गरेको थियो । टर्कीले सो अभियान २०१७ मार्चमा अन्त्य भएको घोषणा गर्यो ।

टर्कीका उच्च अधिकारीहरू अमेरिकाले कुर्द सेनालाई आई.एस.विरुद्धको लडाइँमा सहयोग गरेकोमा क्रुद्ध छन् ।

अर्को छिमेकी राष्ट्र इजरायलले पनि सिरिया भूमिमै आक्रमण गरिरहेको छ । उसले सिरियाली सरकार विरुद्धमा आक्रमण गरेको थियो । प्राविधिक रूपमा इजरायल र सिरिया सन् १९४८ देखि नै युद्धमा रहेका छन् । सन् १९७३ देखि यी दुई मुलुकबीच केही सौहार्द सम्बन्ध कायम थियो, जुन हालका दिनमा इजरायलको पक्षबाट उल्लघङ्न भइरहेको छ ।

विद्रोही समूहहरू
सन् २०११ मा फ्री सिरियन आर्मीको गठन भए यता कैयौँ नयाँ विद्रोही समूहहरू उदाए । यसमा आई.एस., जबात फतेह अल–साम, इरान समर्थित हेजबोल्लाह, सिरियन डेमोक्रेटिक फोर्स र कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट्स प्रमुख हुन् ।

युद्धको विकाससँगै फ्री सिरियन आर्मी कमजोर भयो भने कट्टर धार्मिक समूह अल–नुस्रा फ्रन्ट बलियो भएर आएको छ । अल–नुस्रा फ्रन्टका नेता अबु मोहम्मद अल–जौलानीले सन् २०१६ मा आफ्नो समूहको नाम जबात फतेह अल–साम रहने र आगामी दिनमा अल–कायदासँग पहिले रहेको सम्बन्ध तोडेको जनाएका छन् ।

सन् २०१३ मा आई.एस. इराकको ठूलो भाग कब्जा जमाएर उत्तरी सिरिया प्रवेश गर्यो । सो समूह आफ्नो क्रुर हर्कतका कारण छिट्टै अन्तर्राष्ट्रिय रूपमा चर्चामा आउन थाल्यो । यो समूहको अर्को विशेषता भनेको यस समूहबाट युद्ध लड्न पश्चिमी राष्ट्रबाट समेत गरेर ठूलो सङ्ख्यामा आएका विदेशी मुसलमानहरू थिए । यो समूह इस्लामको एकीकृत राज्य (क्यालिफेट) निर्माणको आह्वानमा विश्वास गरेर आएका थिए ।

टर्की, इराक र सिरियाको त्रिदेशीय सीमा वरपर बसोबास गर्ने विश्वको सबैभन्दा ठूलो राज्यविहीन ‘राष्ट्र’ मानिने कुर्दको ठूलो सङ्ख्यामा सिरियाको उत्तरी भागमा बसोबास रहेको छ । उनीहरू सिरियाको यो तरल अवस्थामा सके स्वतन्त्र राष्ट्र नसके स्वशासित क्षेत्र निर्माणको लक्ष्यका साथ अघि बढेको छ ।
लेबनानी विद्रोही समूह हेजबुल्लाह इरानको सैन्य सहयोगमा यस गृहयुद्धमा असाद सरकारको पक्षमा लडिरहेको छ । यो समूह सिया हुनुको नातामा यो सरकार पक्षधर लिइरहेको छ । सरकार पक्षमा लड्ने समूहमा थोरै सङ्ख्यामा अफगानीहरू पनि रहेका छन् ।

डिसेम्बर २०१६ मा सिरिया सरकारले राजधानीपछिको महत्वपूर्ण सहर अलेपो आफ्नो कब्जामा आएको घोषणा गर्यो । ७ वर्षे युद्धमा यो सरकारको पक्षमा भएको महत्वपूर्ण जित थियो । सो सहर कब्जा गर्ने क्रममा असाद सरकारले विद्रोहीहरू माथि रासायनिक हमला गरेको विश्वास गरिन्छ ।

सरकारले अलेप्पो कब्जा गरेपछि कमजोर परेका विद्रोही समूहहरूले साउदी अरबको मध्यस्थतामा एउटा बृहत् मोर्चा बनेको छ । अलेप्पोमा सरकारको कब्जा भएपछि पश्चिमी भाग इद्लिवमा आफ्नो पकड बलियो राखिराख्न तिनले यसो गरेको विश्वास गरिन्छ । तर सरकारविरुद्ध लडिरहेका यी अनेक विद्रोही समूहहरूबीच दिगो गठबन्धनको आशा गर्न सकिन्न । पहिलेदेखि वर्चस्वका लागि उनीहरू एकआपसमै लडेको खबर आइरहन्छ ।

सिरियाली शरणार्थी समस्या
सिरिया युद्धले आफ्नो सीमाभन्दा निक्कै परसम्म आफ्नो असर देखाइरहेको छ । निक्कै ठूलो सङ्ख्यामा (एक करोड बीस लाख) सिरियालीहरू लेबनान, टर्की र जोर्डनमा शरणार्थीका रूपमा बसिरहेका छन् । यो बीचमा संयुक्त राष्ट्र सङ्घले ४,४०,००० विस्थापित घर फर्किएको जनाए पनि यीमध्ये अधिकांश घर परिवारलाई भेटेर पुनः फर्किएको विश्वास गरिन्छ ।
युद्धका कारण विस्थापितमध्य ठूलो सङ्ख्यामा शरणार्थी टर्कीको बाटो हुँदै ग्रीस पुगेर युरोपका सम्पन्न देश तर्फको यात्रा गर्न थालेपछि युरोपमा यसको असर देखिन थाल्यो । एकअर्काको देशमा खुल्ला आवतजावतको सन्धि (सेन्जेन सम्झौता) गरेका युरोपका राष्ट्रहरूले समेत छिमेक देशबाट हुल बाँधेर आफूतर्फ आइरहेका शरणार्थीहरलाई आफ्नो सीमामा प्रवेश गर्नबाट रोक्न सीमामा तारजाली लगाउन थाले ।

जर्मन चान्सलर एन्जेला मर्केलले सेप्टेम्बर २०१७ को आम निर्वाचनमा उल्लेख्य भोट गुमाउनुको पछाडि उनको पार्टीले अघिल्लो वर्ष ठूलो सङ्ख्यामा शरणार्थी स्वीकार्ने नीतिको हात रहेको मानिन्छ । यो परिणामको कारण युरोपको सबैभन्दा शक्तिशाली राष्ट्र जर्मनीमा पाँच महिनादेखि सरकार निर्माणमा बहुमत पुग्न सकिरहेको छैन ।

यसका अतिरिक्त यही शरणार्थीको भेललाई देखाएर युरोपका अस्ट्रिया, हङ्गेरी, पोल्यान्डमा आप्रवासी विरोधी उग्र दक्षिणपन्थी पार्टीहरूले आफ्नो पकड बलियो बनाउन सफल भएका छन् ।

लोकतन्त्रको मागबाट सुरु भएको सिरियाली उभार अन्तर्राष्ट्रिय शक्ति राष्ट्रको स्वार्थको लडाइँमा परिणत भइसकेकाले यसको निकास अब सिरियाभित्रको शक्तिको हातबाट बाहिर गइसकेको छ । यसको स्थायी समाधान निकट भविष्यमा देखिँदैन । यो युद्धमा भएको भौतिक र मनोवैज्ञानिक क्षतिको स्तर हेर्दा तत्काल युद्ध अन्त्य भए पनि त्यसको पुनः निर्माण हुन वर्षौं लाग्ने प्रष्ट छ ।

प्रतिक्रिया दिनुहोस