संसद अवरुद्ध हुनु दुःखद् : प्रमुख सचेतक गुरुङ

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, १७ : १८
संसद अवरुद्ध हुनु दुःखद् : प्रमुख सचेतक गुरुङ

काठमाडौँ  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद अवरुद्ध हुनु दुःखद् अवस्था भएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता गुरुङले भने,‘संसद अवरुद्ध हुनु दुःखद् हो । यदि संसद यही तवरले अवरुद्ध भैरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ।’ सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारु गर्नको लागि सबै दल गम्भीर हुनुपर्नेमा जोड दिए । यद्यपि उनले अहिलेको संसदको गत्यावरोध पार्टीसँग सम्बन्धित नभएको जिकिर गरे । ‘यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित छ’, उनले भने,‘त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैनन् ।’

उनले भने,‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।’ उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उनले सुनाए । ‘उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन । आग्रहमात्रै गर्न मिल्छ । उहाँ स्वतन्त्र हुनुहुन्छ । पार्टीको कुनै ह्वीप जारी गर्न मिल्दैन । मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्न सक्नुहुन्छ’ गुरुङले थपे । 

प्रतिक्रिया दिनुहोस