माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा शुक्रबार राति बम विष्फोट

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०७६, १३ : ५०
माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा शुक्रबार राति बम विष्फोट

अछाम । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा शुक्रबार राति बम विष्फोट भएको छ । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा राति करीब १० बजे अज्ञात समूहले बम विष्फोट गराएको स्थानीयले बताएका छन् ।

बम विष्फोटपछि सो समूहले नाराबाजी गरेको हुँदा बम विष्फोट गराउने नेकपा विप्लव नेतृत्वको समूह हुनसक्ने स्थानीयले आशंका गरेका छन् । विप्लव समूहका अछाम जिल्ला सेक्रेटरी भरत साउदले बम विष्फोटबारे स्वीकार गर्दै केही समयभित्र विज्ञप्ति सार्वजनिक गरिने जानकारी दिए । राति आयोजना प्रभावित क्षेत्रमा बम विष्फोटसँगै नाराबाजी भएपछि त्यस क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पबाट घटनास्थलमा रातिदेखि नै सशस्त्र प्रहरीहरू परिचालित भएको स्थानीय जनक शाहीले बताउ । बम विष्फोटबारे आधिकारिक जानकारी प्राप्त नभएको र अछाम क्षेत्रमा भएको बारे बुझिरहेको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

कर्णाली प्रदेशको बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना बन्ने सुनिश्चित भएपछि स्थानीय उत्साहित बनेका बेला भएको बम विष्फोटले जनजीवन असामान्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस