चितवनको एउटा दुग्ध सहकारीले मारेको छलाङ

विहीबार, २४ पुस २०७६, १५ : ५८
चितवनको एउटा दुग्ध सहकारीले मारेको छलाङ

चितवन । सफलता के हो ? सफलता कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने प्रश्नहरु हाम्रो लागि सरोकारका विषय हुन्छन् । हामी यस्तै प्रश्नको उत्तरको खोजीमा विभिन्न पुस्तक, लेख तथा पत्रपत्रिका पढ्छौँ । त्यति मात्र नभएर सफल भनिनेहरुको अन्तर्वार्ता तथा विचार पनि सुन्ने गर्दछौँ । यद्यपि अझै हाम्रो चित्त बुझ्दैन ।  

हुन त सफलताको क्षितिज फराकिलो हुने गर्छ । कति उपलब्धि वा प्राप्तिलाई सफलताको उपज दिने भन्ने कुनै पनि मापदण्ड छैन । त्यसैले सफलता भनेको सन्तुष्टि, प्रतिष्ठा र सम्पन्नताको मिश्रण हो  । यति भूमिका बाँधेर यहाँ कुनै व्यक्तिको सफलताको कुरा गर्न खोजिएको होइन, एउटा दुग्ध सहकारी संस्थाको सफलताको खड्किलाको चर्चा गर्न खोजिएको मात्र हो । 

छोटो समयमा छलाङ मारेको चितवनको भरतपुर २२ मा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले कसरी छलाङ मार्दै अगाडि बढ्यो ? यस सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा भन्छन्, ‘मिहिनेत, आत्मविश्वास, निरन्तरता र इमान्दारिताका कारण आज हामी यहाँसम्म आइपुगेका छौँ, अझ धेरै उचाइमा जान बाँकी नै छ ।’ उनका अनुसार दुग्ध सहकारीमा हामीले मारेको छलाङ अरुको लागि प्रेरणा बन्नुपर्छ, अन्य सहकारीले पनि छलाङ मारेर सिङ्गो राष्ट्र विकासमा योगदान दिन सक्नुपर्छ ।

दिनको २०० लिटर दूध संकलन गरेर आज आफ्नै ब्राण्डको दुग्ध उत्पादक सामग्री बजारमा लैजान सकिन्छ भनेर कमैले सोचेका थिए त्यो बेलामा । तर आज सम्भव भइरहेको छ । 
२०४९ सालमा गंगानगर दुग्ध उत्पादक सहकारीमा २०० लिटर दूध संकलन हुँदा, धेरैले कुरा काट्थे, यो बेकारको हो, यहाँ चल्दैन । तर अथक परिश्रम र निरन्तरको खटाइले यसलाई सफल बनाइदिएको छ । यसका व्यवस्थापक रामप्रसाद सापकोटा भन्छन्, ‘यतिबेला दिनको पाँच हजार लिटर दूध संकलन भइरहेको छ ।’

दूध संकलन केन्द्र खोल्दा जम्मा ३६ जनाले दूध ल्याएका थिए, अहिले ६०० भन्दा बढी दूध संकलन गर्ने किसान भइसकेका छन् । ४५० जना शेयर सदस्य बनेका छन् । पटिहानी गंगानगरबाट साइकलमा दूध बोकेर भरतपुरसम्म ल्याएर डीडीसीमा दूध भर्ने यस संस्था अहिले आफ्नै ब्रान्डमा दही प्लान निर्माणमा लागिरहेको छ । 

गाई फार्म सञ्चालन 

जग्गा भाडा लिएर यस दुग्ध सहकारीले गाई फार्मसमेत सञ्चालन गरेको छ । कुनै समय सयौँ दिन मिल्क होलिडे गुजारेको यस संस्थाले यतिबेला काँचुली फेरिरहेको छ । गत आर्थिक वर्षबाट गाई फार्म सञ्चालनमा ल्याएर आफैँले दूध संकलन गरिरहेको छ । ‘संस्थाले गाई फार्म सञ्चालनमा ल्याएपछि किसानमा समेत गाई पाल्ने होड चलिरहेको छ’ संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा भन्छन् । 

फार्ममा साना डूला गरी झन्डै ४० गाई छन् । २० वटा दुहुना गाईबाट २०० लिटर दूध संकलन भइरहेको छ भने पाँच जनाले प्रत्यक्ष रुपमा रोजगार पाइरहेका छन् । संस्थाले १३ लाख लगानीमा खोलेको गाई फार्म सबै दुग्ध सहकारीका लागि प्रेरणा बनिरहेको छ । 

६०० किसानले गंगानगर दुग्ध सहकारीमा दूध संकलनको लागि ल्याउछन् । अध्यक्ष सापकोटाका अनुसार दैनिक पाँच हजारभन्दा माथि दूध संकलन भइरहेको छ, यसलाई दुई वर्षभित्र बढाएर दैनिक ८ हजारभन्दा बढी दूध संकलन गर्ने र गाई फार्ममा एक सयभन्दा बढी गाईहरु पाल्ने योजना रहेको छ । 

चार बिघा जग्गा भाडामा, घाँसखेती सुरु

गाई फार्ममात्र होइन, गंगानगर दुग्ध सहकारीले चार बिघा जग्गा भाडामा लिएर घाँसखेती सुरु गरेको छ । दानाचोकरमा धेरै लागत पर्ने हुनाले घाँस खेतीमा जोड दिन संस्था आफैँले जग्गा भाडामा लिएर घाँसखेती गरिरहेको हो ।

संस्थाका व्यवस्थापक रामप्रसाद सापकोटाले भने, ‘संस्थाको गाईफार्ममा रहेका गाईहरुलाई संस्था आफैँले उत्पादन गरेको घाँस खुवाइरहेका छौँ, जसका कारण दानाचोकरमा पर्ने चर्को लागत घटिरहेको छ ।’ उनका अनुसार जै, नेपियरलगायतका घाँस रोपिएको छ, जुन घाँस वर्षभरि नै हरियो रहन्छ । 

१५ करोडको कारोबार 
यस संस्थाले केही दिनअघिमात्र २६ औं साधारणसभासहित रजत महोत्सव मनाएको छ । वडा नं २२ पटिहानीमा मुख्य कार्यालय रहेको यस संस्थाले दुई शाखाबाट दूध संकलन गरिरहेको छ । वडा नं १३ र १४ मा यसको दूध संकलन केन्द्र छ । संस्थापक सचिव तथा सल्लाहकार समितिका संयोजक रामजीप्रसाद सापकोटाले वार्षिक १६ करोडभन्दा बढी कारोबार भइरहेको बताए । उनले भने, ‘आगामी वर्ष २० करोडको काराबार हुने अपेक्षा गरिएको छ ।’

डेढ करोडको लागतमा दही प्लान 

गंगानगर दुग्ध सहकारीले डेढ करोडको लागतमा दही प्लान बनाउँदैछ । यसको लागि सहकारी विभागबाट ५१ लाख अनुदान संस्थाले पाउने निश्चित भएको छ ।

‘हामीले दही प्लानको लागि ९० लाखको प्रस्ताव गरेका थियौँ, सहकारी विभागबाट ५१ लाख अनुदान स्वीकृत भएको छ’ व्यवस्थापक रामप्रसाद सापकोटाले भने, ‘पहिलो चरणमा २५ लाख निकासा भइसकेको छ ।’ ३४ लाख संस्थाले हाल्ने र बाँकी रकम शेयर सदस्यबाट संकलन गरी डेढ करोडको लागतमा दही प्लान बनाउने योजना सुरु गरिएको उनी बताउँछन् । 

ढिलोमा आउँदो फागुन १५ सम्ममा यस दुग्ध सहकारीले आफ्नै ब्रान्डको दुग्ध परिकारहरु बजारमा लैजाने योजना बनाइरहेको छ । व्यवस्थापक सापकोटा भन्छन्, ‘दुई वटा चिलिङ भ्याट छ, अनलाइजर मेशिन छ, १० कोठाको आफ्नै भवन छ, हामी भौतिक पूर्वाधारमा परिपक्व भएका छौँ, गुणस्तरको लागि आफ्नै गाई फार्मसमेत चलाएका छौँ, त्यसकारण हाम्रो ब्रान्ड बजारमा सजिलै जम्न सक्छ भन्ने पूरा विश्वास छ ।’ 


 

प्रतिक्रिया दिनुहोस