सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०७६, १५ : ५०
सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन् । 
 राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई आज ९विहीबार० ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । 

सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताइन् । 
उनले राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागु गरेर जानुपर्ने बताइन् । 
सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्मशिलता भएको बताइन् । 

सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने उनको भनाइ थियो । त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको विश्वास छ । 
राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्नका निम्ती पनि सहकारीले भूमिका खेल्नुपर्ने बताइन् । 

 ती गरिबी निवारणका कार्य स्थानीय तहबाट गर्नुपर्ने मन्त्री अर्यालको भनाई छ । स्थानीय स्तरमा आफ्नो ठाउँको पहिचान गरेर गरिबी निबारणका कार्यक्रम गर्न समेत मन्त्री अर्यालले सहकारीलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस