शहीद स्मारक लिगमा सन्तोषको सय गोल

रासस

बुधबार, २३ पुस २०७६, १७ : २४
शहीद स्मारक लिगमा सन्तोषको सय गोल

काठमाडौँ । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ गोल गर्नुभएको हो । 

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गर्नुभएको हो । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । 

च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गर्नुभएको हो । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ ।

जारी लिगमा उहाँको यो चौथो गोल हो । उहाँले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गर्नुभएको थियो । उहाँले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सक्नुभएन । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थाल्नुभएको हो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस