रामायण भवन सम्पन्न, आदिकविको १०० फिट अग्लो शालिक निर्माण गरिँदै

रासस

बुधबार, २३ पुस २०७६, ११ : ३२
रामायण भवन सम्पन्न, आदिकविको १०० फिट अग्लो शालिक निर्माण गरिँदै

तनहुँ । भानु नगरपालिका–४ शिखरकटेरीमा करीब रु तीन करोडको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । 

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । भवनको बार्दली  काठमा  कुँदिको कलात्मक  रहेको छ । 

करीब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्ताकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उक्त गुरुयोजनाका लागि अनुमानित लागत रु १६ करोड रहेको छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो शालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको भानु नगरपालिकाले जनाएको छ ।

चुँदी रम्घाबेँसीदेखि शिखरकटेरीसम्म पुग्ने कच्ची मोटरमार्ग भएका कारण मानिसलाई आवातजावत गर्न समस्या भएकाले उक्त मार्गको स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाट जानकारी दिनुभयो । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त विसं १९७१ असार २९ गते चुँदी रम्घामा जन्मनुभएको हो । भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा र प्रश्नोत्तरीजस्ता काव्यकृतिले नेपाली साहित्य क्षेत्रलाई नै धनी बनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस