राजमार्ग खण्डमा अतिक्रमित घरटहरा भत्काईदै

पत्रपत्रिकाबाट

बुधबार, २३ पुस २०७६, ०७ : २१
राजमार्ग खण्डमा अतिक्रमित घरटहरा भत्काईदै

file photo

सिरहा ।  पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सिरहाखण्डमा अतिक्रमण गरी बनाइएको अस्थायी घर, टहरा स्थानीय प्रशासनले सोमबारदेखि हटाउन सुरु गरेको छ। स्थानीय तहको सहयोगमा प्रशासनले लहान, गोलबजार, मिर्चैया र बन्दीपुरमा सोमबार अतिक्रमण हटाएका छन्। 

सवारी साधन आवागमन प्रभावित बन्नुको साथै दुर्घटनाको जोखिम बढेपछि त्यसलाई न्युनिकरण गर्न अतिक्रमणगरी निर्माण गरिएका घर, पसल, टहरा, ठेलालगायतका संरचना हटाउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। 

अधिकारीका अनुसार गत पुस ६ गतेको सर्वदलीय, सर्वपक्षीय बैठकबाट १५ दिनभित्रै आफै खाली गर्न सूचना जारी गरिएको थियो। खाली नगरेको ठाउँमा जेसीबी लगाएर मंगलबारदेखि टहरा भत्काउन थालिएको हो। 

पूर्व–पश्चिम लोकमार्गको सिरहा अन्तर्गत बन्दीपुर देखि लहान सम्म ४२ किलोमिटर सडकको दुवैपट्टि अतिक्रमण गरेर निर्माण गरिएको घर, पसल, टहरा, ठेला, होर्डिङबोर्ड र सडकमा जथाभावी रुपमा थुपारिएर राखिएका समान डोजर लागाएर हटाएको हो।  अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस