नारायणगढ मुग्लिन सडक : फराकिलो बनाए पनि दुर्घटनामा आएन कमी

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, २१ पुस २०७६, १५ : १७
नारायणगढ मुग्लिन सडक : फराकिलो बनाए पनि दुर्घटनामा आएन कमी

–    हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । नारायणगढ मुग्लिन सडकखण्ड बिस्तार गरिएको डेढ वर्ष भइसकेको छ । सडक फराकिलो भएपछि सडक दुर्घटनामा कमी आउने आशा गरिएको थियो, तर सवारी दुर्घटना झन् बढेर गएको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्ण ज्यू ठकुरीले बाटो फराकिलो भए पनि दुर्घटनाको संख्या झन् बढिरहेको बताए । संख्यात्मक रुपमा दुर्घटनामा वृद्धि भएपनि मानवीय क्षतिमा भने वृद्धि भएको छैन । 

उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा आँपटारीदेखि मुग्लिनसम्मको सडकमा ३५ वटा सवारी दुर्घटनामा ४७ जनाको मृत्यु र ९५ जना घाइते भएका थिए । त्यस्तै २०७४/०७५ मा ५१ वटा सवारी दुर्घटनामा २८ जनाको मृत्यु र १३१ जना घाइते भएका थिए । त्यस्तै ०७५/०७६ मा ५५ वटा सवारी दुर्घटनामा २८ जनाको मृत्यु र १९७ जना घाइते भएका थिए । 

चालु आर्थिक वर्ष ०७६/०७७ (श्रावणदेखि हालसम्म) ३४ वटा सवारी दुर्घटनामा १४ जनाको मृत्यु र ८३ जना घाइते भइसकेका छन् । गत आर्थिक वर्षको हालसम्म भएको सवारी दुर्घटनाभन्दा यो वर्षको हालसम्मको संख्या बढी भएको प्रहरी नायब निरीक्षक ठकुरीले जानकारी दिए । 

ठकुरीका अनुसार पहिला सडक साँघुरो हुँदा सवारी साधन त्रिशुली नदीमा खस्थ्यो । जसले गर्दा धेरै जनाको मृत्यु हुन्थ्यो । तर अहिले नदीमा खस्ने क्रम घटे पनि दुर्घटनामा कमी आउन सकेको छैन ।

फराकिलो र राम्रो बाटो पाएपछि चालकहरुले सवारी तीव्र गतिमा कुदाउने, ओभर टेक गर्ने गरेका कारण धेरैजसो दुर्घटना भइरहेको छ । पहिलेको तुलनामा अहिले सवारी संख्यामा पनि वृद्धि भइरहेको छ । बाटो फराकिलो भएपछि ठूला र लामो बडीका मालबाहक सवारीको संख्यामा वृद्धि भएकाले पनि दुर्घटना निम्त्याएको छ । अहिले उक्त सडकमा मोटरसाइकल दुर्घटना बढिरहेको छ ।

सडक फराकिलो बनाउने काम सम्पन्न भएपनि नारायणगढ मुग्लिन सडकखण्डमा भएका पुलहरु भने साँघुरा छन् । उक्त साँघुरो र पुरानो पुलका कारण पनि दुर्घटनामा कमी आउन नसकेको प्रहरी नायब निरीक्षक ठकुरी बताउँछन् । माथिबाट ढुङ्गा खसेर, पहिरो गएर पनि दुर्घटनामा कम हुन सकेको छैन । 

दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले राडार गन प्रयोग गरेर स्पिड जाँच गर्ने काम गरेको छ । हाइवे चेकिङ, मापसे चेकिङ, डबल चालक (२५० किमी भन्दा बढी दुरी यात्रा गर्ने यात्रुबाहक बसमा), सिट क्षमताभन्दा बढी यात्रु भए नभएको, मालबाहक सवारी साधनमा समान बढी भए नभएको लगायतका जाँचहरु गरिरहेको प्रहरी निरीक्षक ठकुरीले बताए । चालकसँग १ मिनेट र यात्रुसँग २ मिनेट भन्ने अभियान चलाएर उनीहरुलाई ट्राफिक शिक्षा दिने गरिएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डमा १८ वटा पुल रहेका छन् । आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिवप्रसाद खनालले ती पुलहरुमध्ये ३ वटाको काम सकिएको र एउटाको काम भइरहेको जानकारी दिए । बाँकी १४ वटा पुल कहिले निर्माण गर्ने भन्ने कुरा सडक विभागले निर्णय गर्ने उनले बताए । सडकको चौडाइभन्दा पुलको चौडाई आधा भएकाले तीव्र गतिमा आएका सवारी साधनलाई पुल आएको संकेत गराउनका लागि सबै पुलका छेउमा रम्बल स्टिम राखिएको छ । 

सडक स्तरोन्नति गर्दा भित्तो काटिएकाले यहाँ पहिरोको जोखिम पनि उत्तिकै छ । खनालका अनुसार अहिले आठ ठाउँमा पहिरो रोक्ने काम भइरहेको छ । कालीखोला, तोपे खोला, चार किला, जलविरे, भालुढुङ्गा, घुमाउने, भोर्ले र गाईघाटमा पहिरो रोक्नका लागि काम भइरहेको छ । 

नारायणगढको आँपटारीदेखि मुग्लिनसम्मको सडक ३३.२ किलोमिटर लम्बाइको रहेको छ । काठमाडौंलाई मुलुकको पूर्वी र पश्चिमी भागसँग उक्त सडकले जोड्छ । 

२०३६ सालमा नारायणगढ–गोर्खा सडकका रूपमा उक्त सडक निर्माण भएको थियो । साँघुरो भएपछि सडक बिस्तारको काम २०७२ सालबाट सुरु गरिएको हो । सडक फराकिलो बनाएर पिच गर्ने काम २०७५ साल जेठमा सम्पन्न भएको हो । सडकको चौडाइ ठाउँ अनुसार बढीमा ११ र कम्तीमा ९ मिटरको बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस