ट्राफिक प्रहरीसमक्ष यातायात व्यवसायी गरे यस्ता १९ बुँदे प्रतिबद्धता

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, १३ : १३
ट्राफिक प्रहरीसमक्ष यातायात व्यवसायी गरे यस्ता १९ बुँदे प्रतिबद्धता

काठमाडौँ । यातायात व्यवसायीले सार्वजनिक सवारीसाधान सञ्चालनका सम्बन्धमा १९ बुँदे प्रतिबद्धता जनाएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालको संयोजनमा महाशाखामा सरोकारवाला पक्षसँग भएको छलफलपछि यातायात व्यवसायीले १९ बुँदे प्रतिबद्धता जनाएका हुन् । 

जसअनुसार तोकिएको भाडा दरमात्र लिने, ढाको खुल्ला गरी गाडी नचलाउने, आरक्षण सिटको पालना गर्ने, झ्याल र सिटको अवस्था ठीक राख्ने, गाडीको रंगरोगन दुरुस्त राख्ने प्रतिबद्धता जनाइएको छ । 

यस्तै क्षमताभन्दा बढी यात्रु नबोक्ने, चालक तथा सहचालकले यात्रुहरुलाई राम्रो व्यवहार गर्ने, नियमपूर्वक सवारी चलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, गाडी चलाउँदा मोबाइल प्रयोग नगर्ने, तोकिएको स्थानमा मात्र यात्रु चलाउने र ओराल्ने, चालक र सहचालक भद्र हुनुपर्नेलगायतका प्रतिवद्धता पनि जनाइएको छ।  

एसएसपी ढकालले सार्वजनिक यातायातको अनुगमन र नागरिकको गुनासोको आधारमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदूर ट्रेड युनियनका प्रतिनिधिलगायत सरोकारवालासँगको छलफल गरेका थिए । 

ट्राफिक प्रहरीले १९ बुँदे कार्यान्वयन भए–नभएकोबारे अनुगमनको लागि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारको संयोजकत्वमा ८ सदस्सीय अनुगमन समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस