शिक्षकले विद्यार्थी निर्घात कुटे, कारवाहीको माग

पत्रपत्रिकाबाट

सोमबार, २१ पुस २०७६, ०८ : ३८
शिक्षकले विद्यार्थी निर्घात कुटे, कारवाहीको माग

रूपन्देही  । गृहकार्य नगरेको भन्दै शिक्षकबाट कुटिएका किशोर विद्यालय जान छाडेका छन् । कुट्‌ने शिक्षकलाई कारबाही भएको छैन । किशोरका परिवारले शिक्षकविरुद्ध दिएको उजुरी पनि प्रहरीले दर्ता गरेको छैन । सम्मरीमाई–६ पोखरहवास्थित ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १३ वर्षीय मोहम्मद तौफिक देवानलाई कम्प्युटर विषय शिक्षक ३५ वर्षीय शैलेन्द्र बरईले कुटेका थिए ।

कम्प्युटरको गृहकार्य नगरेर कक्षामा आएको भन्दै उनलाई विषय शिक्षकले कुटेको विद्यालयले जनाएको छ । सम्मरीमाई–६ का १३ वर्षीय देवानले दुखाइ कम भए पनि घाउ निको नभएको बताए । घाउ निको भएपछि मात्रै विद्यालय जाने र पढ्ने उनले बताए । ‘सरले बेस्सरी पिट्नुभयो,’ सम्मरीमाई–६ का १३ वर्षीय देवानले घटनाको पाँच दिनपछि आइतबार भने, ‘लौरोले बायाँ खुट्टा, हात र आँखामा हिर्काउनुभो ।’ जथाभावी हिर्काएकाले धेरै ठाउँमा चोटैचोट भएको उनले बताए । गत बिहीबारदेखि उनी विद्यालय गएका छैनन् । अन्य ठाउँको दुखाइ कम भए पनि आँखामा पीडा भइरहेको उनले सुनाए ।

विद्यार्थी कुट्‌ने शिक्षकलाई कारबाही चलाउनुपर्नेमा प्रहरीले उल्टै मेलमिलाप गराउन खोजेको आफन्तले आरोप लगाएका छन् । आइतबार देवानले घटनाबारे यहाँका सञ्चारकर्मी र प्रहरीलाई बताइरहेका थिए । उनको आँखामा लागेको चोटसहितको कुटाइमा परेका बालक यतिबेला घरमै आराम गरिरहेका छन् । अभिभावकले साथ छाडेका छैनन् । देवानका बाबु वैदेशिक रोजगारीका लागि कतारमा छन् । त्यसैले हजुरबुबा मोहम्मद हुसेनले नातिको ख्याल गरिरहेको बताए ।

कुटाइबाट गहिरै चोट लाग्यो । बुधबार बिहान विद्यालय गएका देवान राति ९ बजेसम्म घर फर्केका थिएनन् । घटनाबारे विद्यालयले परिवारलाई जानकारी गराएको थिएन । त्यसैले अभिभावकले बालकका साथीसँग जानकारी लिए । त्यसपछि मात्र देवानलाई अस्पताल पुर्‍याइएको थाहा भयो । प्रधानाध्यापक सुरेन्द्र बरईलाई पटक–पटक फोन गरेपछि सम्पर्कमा आएका उनले बाबुलाई हल्का चोट लागेकाले उपचार गराएर घर ल्याएको जानकारी दिए । घर आएपछि देवानले विद्यालयमा भएको घटनाबारे परिवारलाई बताएका थिए ।

देवान र बरई एकै गाउँका बासिन्दा हुन् । विद्यालयले पनि घटना सार्वजनिक नहुँदै मिलापत्र गर्न खोजेको इलाका प्रहरी मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले कान्तिपुरसित बताए । ‘मेलमिलापमा जानेसम्म कुरा भए पनि हाम्रै पहलमा घटना सार्वजनिक भएको हो,’ उनले भने, ‘घटनालगत्तै फरार भनिएका शिक्षक शैलेन्द्रलाई आइतबार पक्राउ गरेका छौं ।’

उनका अनुसार बालकको आँखा र हातमा कुटपिटबाट गहिरो चोट लागेको प्रस्ट देखिएको छ । आइतबार बल्ल परिवारका सदस्य जाहेरी दिन प्रहरी कार्यालयमा आएको उनले बताए । मुद्दा दर्ता गरेपछि घटनाको छानबिन अगाडि बढाइने उनले बताए ।

यस विषयमा जानकारी लिन विद्यालयका प्रधानाध्यापक बरईलाई पटक–पटक फोन गर्दा प्रतिक्रिया दिन मानेनन् । देवानका हजुरबुबा हुसेनले सोमबार पुनः भैरहवास्थित मेडिकल कलेज पुर्‍याएर नातिको स्वास्थ्य जाँच गरिएको बताए । ‘नाति घर नआएपछि धेरैबेर खोजी गर्‍यौं,’ उनले भने, ‘छिमेकीका बच्चाले सरले पिटेर चोट लागेको छ भनेपछि घटना थाहा भयो ।’

त्यसपछि कक्षाका अन्य विद्यार्थीलाई हल्का कुटेका शिक्षक बरईले देवानलाई नराम्ररी कुटेको नातिले बताएको उनको भनाइ छ । उनका अनुसार नाति घर आउँदा आँखा सुन्निएको थियो । हात फुलेको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस