विभागीय प्रमुखहरुलाई समयसिमा भित्र काम सम्पन्न गर्न मेयर शाक्यको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०७६, १३ : २०
विभागीय प्रमुखहरुलाई समयसिमा भित्र काम सम्पन्न गर्न मेयर शाक्यको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं सहरलाई व्यवस्थित र सुरक्षित बनाउन कर्मचारीहरु बढी सक्रिय र उत्तरदायी  बन्नुपर्ने बताउनु भएको छ । काठमाडौँ महानगरपालिकाका सबै विभागका विभागीय प्रमुखहरुसँग छलफल गर्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । 

सहरी सेवा, सहरी पूर्वाधार तथा सहरी सुबिधा बितरणमा सबैको पहुँच पु¥याउने उद्देश्यले प्रधानमन्त्री ंतथा मन्त्री परिषद्को कार्यालयबाट प्राप्त कामको बाँडफाँडसहितको विवरण प्रस्तुत गर्दै मेयर शाक्यले महानगरको नेतृत्वमा हुने काम र त्यसको कार्यान्वयनमा सक्रिय ढंगले लाग्न पनि निर्देशन दिनुभयो ।  प्रधानमन्त्री ंतथा मन्त्री परिषद्को कार्यालयबाट गरिएको कामको बाँडफाँडमा धेरै काम महानगर एक्लैले गर्नुपर्ने छ । यद्यपि केही काम भने विभिन्न मन्त्रालय, सडक विभाग, मेलम्ची खानेपानी आयोजना, नेपाल आयल निगमलगायतसँगको समन्वयमा सम्पादन गर्नुपर्ने रहेका छन् । 

विभागीय प्रमुखहरुसँगको छलफलमा  मेयर शाक्यले कतिपय सन्दर्भमा नगर सभाबाट स्वीकृत गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन भएको ढिला–सुस्तीले केही समस्या भएको बताउनुभयो । उहाँले विभागीय प्रमुखहरुलाई स्वीकृत नीति तथा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न निर्देशन समेत दिनुभयो । ‘नीति र कार्यक्रम पूर्ण रुपमा कार्यान्वयनमा आउने हो भने महानगरसँग जनताका गुनासा पनि स्वतः कम भएर जाने थिए,’ उहाँले भन्नुभयो, ‘माथिल्ला निकायको अपेक्षा पनि हुने थिएन । महानगरसँग बजेट छ, नीति–कार्यक्रम छ । सबै भएर पनि किन काम भएन ? अब तपाईहरुले (बिभागीय प्रमुखहरु) जिम्मेवारी लिनोस् । अब प्रधानमन्त्रीकोमा जाँदा प्रगति प्रतिवेदन लिएर जाने वातावरण निर्माण होस ।’ 

उहाँले जनप्रतिनिधिले योजना बनाउने र ती योजनालाई कार्यान्वय तहसम्म लैजाने जिम्मेवारी कर्मचारीको भएको भन्दै कर्मचारी नै बढी जिम्मेवारी हुने भएकाले बढी जिम्मेवार भएर काम गर्न आग्रह समेत गर्नुभयो । ‘फायल अल्झाउने, दिएका जिम्मेवारी पूरा नगर्ने, जनताप्रति उत्तरदायी नहुने, जनप्रतिनिधिले भनेको कुरा नटेर्ने हो भने हामीले जनअपेक्षा अनुसार काम गर्न सक्दैनौँ,’ उहाँले भन्नुभयो, ‘बजेटको अभाव छैन, त्यसैले काम गर्ने सिलसिलामा के समस्या भयो मलाई भन्नुहोला तर, तपाईँहरु अलिक बढी जिम्मेवार र उत्तरदायी भएर काममा लाग्नुहोस् ।’   

मेयर शाक्यले सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिला–सुस्ती नगर्न पनि निर्देशन दिनुभयो  । ‘सहरलाई नै कुरुप बनाउने गरी राखिएका होर्डिङबोर्डका कारण हामीले पनि धेरै गुनासो सुन्नु परेको छ,’ उहाँले भन्नुभयो, ‘तपाईले होर्डिङ् राख्न सहमति दिनुभएको भए जिम्मेवारी लिनोस् । होइन भने सबै हटाउनोस् । शुल्क लिएर राख्न दिएको भए, पैसा फिर्ता गर्नोस् र बोर्ड हटाउनोस् । तर, हटाउने काममा ढला–सुस्ती हुनुभएन ।’ 

ट्राफिक लाइट सञ्चालनमा ल्याइने  

काठमाडौँ महानगरपालिकालाई महानगरीय ट्राफिक प्रहरीसँग समन्वय गरेर बानेश्वर, सिंहरदरबार, गौसाला, माहाराजगञ्ज चोक लगायतका स्थानमा पुस भित्रमा ट्राफिक लाइट सञ्चालनमा ल्याउन भनिएको छ । त्यसैगरी महानगर क्षेत्र भित्रका खाल्टाखुल्टी सडक विभाग र सम्वन्धित निकायसँग छलफल गरेर जतिसक्दो छिटो पुर्न भनिएको छ । 

सडक विभागको समवन्यमा चैत भित्रमा कोटेश्वर चोकबाट जडिबुटी चोकसम्म बाँयातिरको खाली ठाँउमा सर्भिस लेन बिस्तार गर्ने, सडक विभागको समवन्यमा कालीमाटी मुनीको दुबैतर्फको अण्डरपास बैशाख भित्रमा व्यवस्थित गर्नेलगायतका कुरा पनि अल्पकालिन कार्ययोजनामा उल्लेख गरिएको छ । 

नेपाल आयल निगम र सडक विभागसँग समन्वय गरेर सवारी आगमनलाई बाधा पर्ने किसिमले सञ्चालनमा रहेका पेट्रोलपम्पहरु स्थानान्तरण गर्ने, पिक एण्ड ड्रपलाई थप व्यवस्थित गर्ने, माघ भित्रमा सडक विभागसँगको समन्वयमा जेव्राक्रस थप गर्ने, ट्राफिक संकेत मर्मत गर्ने,  सिसि टिभिलाई थप व्यवस्थित गर्ने, गुठी संस्थानलगायतसँगको समन्वयमा सडक आसपासका खाली जग्गाहरु भाडामा लिई पार्किङका लागि उपयोग गर्ने जस्ता विषयमा पनि कार्ययोजनामा उल्लेख गरिएको छ । फागुन भित्रमा सम्वन्धित निकायसँग समन्वय गरेर महानगर क्षेत्र भित्र यात्रु चढ्ने र ओराल्ने स्थानमा प्रतिक्षालयसहित बस पकेटहरु बनाउने, फुटपाथ व्यवस्थित गर्ने जस्ता कुरामा पनि महानगरपालिकाको जिम्मेवारीमा परेका छन् ।     

छलफलमा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको बैठकमा उठेका बिषय र महानगरको नेतृत्वमा सम्पादन हुनुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो । जुन काम जुन बिभागसँग सम्बन्धित छ, उही बिभागका प्रमुखले जिम्मेवारी लिनोस् । यदि तपाई काम गर्न सक्नुहुन्न भने अहिल्यै भन्नोस्,’ उहाँले भन्नुभयो, ‘गर्न नसक्ने काम भए अहिले नै जिम्मा लिन सक्दिन भन्नोस् । नियमित कामको जिम्मेवारी छोडेर होइन, त्यसलाई जोडेर तपाईले काम गर्नुपर्छ ।’  

कार्ययोजनामा बिहान साढे आठसम्ममा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधन गन्तव्यमा पु¥याइसक्नु पर्ने, सडकबाट निर्माणजन्य सामाग्री हटाउनु पर्ने, पैदल मार्गमा भएको अतिक्रमण हटाउनु पर्ने जस्ता काम महानगरको जिम्मेवारीमा परेका छन् । मोटरसाइकल र मोटरबाट हुने ¥यालीलाई निरुत्साहित गर्ने काम पनि महानगरले गर्नु पर्ने कामको सूचीमा छन् । सौर्यबत्तीले सडकमा आवश्यक पर्ने उज्यालो प्राप्त नभएकोले सौर्यबत्तीको सट्टा मास लाइट जडान गर्ने काम पनि महानगरको भागमा छ ।

पोर्टेबल आकाशे पुल बनाउने, सम्भव हुने सडक किनारामा पार्किङ् बक्स बनाउने जस्ता काम सम्बन्धित कार्यालयसँगको सहकार्यमा महानगरले गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस