अब भाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने

पत्रपत्रिकाबाट

बुधबार, १६ पुस २०७६, ०८ : १९
अब भाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने

काठमाडौं । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत सहभागी बैठकमा गृहमन्त्री थापाले राजधानीसहित शहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय गतिविधि बढेको विषयमा बैठकमा छलफल भयो, अब घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण राख्नेतर्फ तयारी अघि बढाउन भनिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने ।

विवरणमा घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहित फोन नम्बर समेत भएको विस्तृत विवरण एवं घर छाडेको भए सोको समेत विवरण समेत नजिकको स्थानीय प्रहरी कार्यालयमा घरबेटीले दिनु पर्ने छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले घरमा भाडामा बस्नेहरुको विवरण अद्यावधिक गरी राख्नेतर्फ आवश्यक प्रक्रिया सुरु गरिसकिएको बताए । राजधानी दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस