मेघौलीको मुसहर बस्तीमा छाएको खुसी

‘घर पाउनेभयौँ, अब लालपुर्जा पनि पाए माछा मार्दैनौँ’

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, १४ : ५९
‘घर पाउनेभयौँ, अब लालपुर्जा पनि पाए माछा मार्दैनौँ’

चितवन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गरेका अरुण माझी यतिबेला फुरुङ्ग भएका छन् । कारण हो, उनले पढ्नमात्र होइन, अब बस्ने घरसमेत पाउँदैछन् । यतिबेला अरुणका बुबा राजकुमार आफ्नो चिटिक्कको घर निर्माणमा जुटिरहेका छन् । 

घर बनाउँदै गरेको अवस्थामा भेटिएका राजकुमारले भने, ‘घर त बन्ने भयो, अब लालपुर्जा पाउन पाए माछा मार्न पनि छोड्ने थिएँ ।’ उनलाई चितवनको सदरमुकाम भरतपुरबाट गएका पत्रकारले अन्तर्वार्ताको लागि घेरेपछि भने–‘म यति ठूलो मान्छे हो र ?’ 

टिभीमा नेताहरुलाई सञ्चारकर्मीले घेरेको देखेका राजकुमारले, सायद त्यही सोचेर होला ठूला मान्छेहरुलाई मात्र पत्रकारहरुले अन्तर्वार्ता लिन्छन् भन्ने ठानेका । पत्रकारबाट घेरिएपछि खुसी हुँदै उनी गुनासिए– ‘घरको छानाबाट चुहिएको शीतको थोपा गन्दै रात काटिन्थ्यो, तर अब त हाम्रो पनि पक्की घर हुने भयो, छोरो अरुण ठूलो मान्छे बन्ने भयो ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले अभिभावकत्व ग्रहण गरेका अरुणको मात्र होइन अर्का पत्रुसको पनि घर बनिरहेको छ । अरुण र पत्रुसलाई शिक्षामात्र होइन बासको पनि जोहो भइसकेको छ । ‘घर पाउँदा खुसी नहुने कुरै भएन, अब लालपुर्जा पायौँ भने अझ बढी खुसी हुन्थ्यौँ’ राजकुमारले भने । 

पत्रुस र अरुणको मात्र होइन, भरतपुर २७ र २८ मेघौलीमा रहेका मुसहर समुदायले यतिबेला पक्की घर बनाइरहेका छन् । पत्रुस र अरुणसहित मुसहर समुदायका पाँच वटा घर भरतपुर महानगरपालिकाले बनाइरहेको छ । 

‘पानी पर्दा चुहिने, घाम लाग्दा छिर्ने खरले बारेको झुप्रो घर थियो, अब त पक्की घरमा बस्न पाइने भइयो’ घर निर्माणमा जुटेका शम्भु माझीले भने, ‘अब हामीले लालपुर्जा पायौँ भने माछा मारेर खानु पर्दैन, इलम गरेर खान्छौँ । हिजोआज त खोलामा माछासमेत पाइँदैन ।’ 

भरतपुर २७ र २८ मा बस्ने मुसहर समुदाय ऐलानी जग्गामा बसोबास गर्छन् । उक्त ऐलानी जग्गा वन क्षेत्रमा नै पर्छ । उनीहरुलाई यतिबेला एउटै पिरलो छ, त्यो हो बसिरहेको जग्गाको लालपुर्जा । ‘लालपुर्जा पाउन पाए, हामी सबैले दुःखबाट मुक्ति पाउने थियौँ’ अर्का राजु माझीले भने, ‘अब हाम्रा दुःखका दिन गएजस्तो लाग्दै आएको छ, हामीले बस्ने घर पाउँछौँ भनेर सोचेकै थिएनौँ ।’

सो ठाउँमा वन्यजन्तुको डरमात्र होइन, बर्खामासमा उर्लेर आएको नारायणीले लान्छ भन्ने पनि डर छ । ‘वन्यजन्तुले फु गर्दिए लड्नेजस्ता घर थिए, अब पक्की घर त भत्काउन सक्दैन, घर पाउँदा हामीलाई धेरै खुसी लागेको छ’ शम्भु माझीले भने । उनका अनुसार दीपक माझी, भोकला माझीलगायतको यतिबेला महानगरले घर बनाइरहेको छ । 

भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार अब केही दिनमा घर तयार हुने र भरतपुर २७ र २८ को पिपरा, दद्रेनीका मुसहरहरु नयाँ घरमा सर्ने छन् । भरतपुर महानगरपालिकाको ‘खरका छानोमुक्त घर’कार्यक्रम चलिरहेको छ । महानगर प्रमुख रेनु दाहालले भनिन, ‘अति विपन्न माझी समुदायलाई सरकारको ‘जनता आवास कार्यक्रम’ र भरतपुर महानगरको ‘खरका छानोमुक्त घर निर्माण’ कार्यक्रमअन्तर्गत मेघौलीको मुसहर बस्तीमा घर बनाइरहेका छौँ ।’

महानगरले यसअघि भरतपुर–२५ मा विपन्न समुदायका १० वटा घर बनाएर हस्तान्तरण गरिसकेको जनाएको छ । भरतपुर–१३ र १६ मा पनि विपन्न समुदायको लागि घर निर्माण भइरहेको प्रमुख दाहाल बताउँछिन् । उनले भनिन्, ‘हामीले घरको स्थलगत अवलोकन पनि गरेका छौँ, उनीहरु खुसी भएको पाएका छौँ । जहाँसम्म लालपुर्जाको कुरो संघीय सरकारबाटै हुने हो, यसको लागि संघीय सरकारले थप प्रक्रिया चालिरहेको पनि छ, जहाँसम्म मलाई लाग्छ, लालपुर्जाको व्यवस्था पनि छिटै हुन्छ ।’

महानगरले प्रतिघर तीन लाख रुपैयाँ खर्च गरेर विपन्न मुसहर समुदायमा घर निर्माण थालेको हो । जस्ताको दुईपाखे छानो भएको तीन कोठाको घर बन्ने छ । ब्लकको गारो र अगाडि–पछाडि पाली रहने महानगरको भनाइ  छ । पालीमा भान्साकोठासमेत रहन्छ । 

मुसहर समुदायको त्यहाँ १० घर छ, उनीहरुको परिवारको सदस्यसंख्या ७० भन्दा माथि छ । उनीहरु पुस्तौँदेखि सो क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् । सबै विपन्न मुसहरलाई घर बनाइदिने महानगरले जनाएको छ । घर निर्माण भइरहेका ठाउँमा महानगर प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको टोलीले स्थलगत अवलोकन गरेर थप सुझाव संकलन गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस