अबदेखि कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गरी प्रहरीलाई बुझाउनुपर्ने

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, १३ : २७
अबदेखि कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गरी प्रहरीलाई बुझाउनुपर्ने

काठमाडौं । सरकारले घरमा कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको छ । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

उपत्यकासहित देशका मुख्य शहरमा घर भाडामा लिएर अपराधिक गतिविधि हुने गरेको देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो । यतिबेलै घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार बैठकले घरधनीलाई भाडामा बस्ने व्यक्ति र संस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने निर्णय गरेको छ । अब घरबेटीले भाडामा बस्नेबारेको विस्तृत विवरण संलकन गरेर नजिकको प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्ने छ । घर भाडामा बस्ने र छाड्ने दुवैको नियमित र अद्यावधिक अभिलेख राख्न प्रहरीलाई समेत निर्देशन दिने निर्णय भएको छ ।

यसअघि पनि स्वेच्छिक रुपमा डेरावालाको विवरण संकलन गरिँदै आएको भएता पनि अब भने अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस